यातायात नचल्दा यात्रु समस्यामा
मेची राजमार्गको फिदिम–ताप्लेजुङ र फिदिम–इलाम सडक खण्डमा यातायातका साधन चलेका छैनन्। बन्द आह्वानकर्ताले यातायातका साधनलाई चल्न नदिएपछि यात्रुहरु मर्कामा परेका छन्।
इलाम, मंसिर १२ : आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी पक्षधरले आह्वान गरेको बन्दका कारण मेचीका जिल्लामा जनजीवन प्रभावित बनेको छ। मेची राजमार्गमा मंगलबार सवारीसाधन नचल्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन्।
मेची राजमार्गको फिदिम–ताप्लेजुङ र फिदिम–इलाम सडक खण्डमा यातायातका साधन चलेका छैनन्। बन्द आह्वानकर्ताले यातायातका साधनलाई चल्न नदिएपछि यात्रुहरु मर्कामा परेका छन्।
प्रदेश नामकरणप्रति असन्तुट बनेको ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आह्वानमा आज यातायात बन्द भएको हो।
एमाले सचिव तथा संघीय सांसद योगेश भट्टराई गृहनगर ताप्लेजुङ पुगेका बेला दुई दिनअघि पहिचान पक्षधर संगठनका कार्यकर्ताले विरोध गरेका थिए।
उनीहरुले भट्टराईलाई कालोझण्डा देखाउनुका साथै उनी चढेको गाढीमा लाठी र ढुंगा प्रहार गरेका थिए । उक्त कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो।
तोडफोडमा संलग्न भएको आरोपमा विविन कालिङवा र आनन्द कालिङवालाई प्रहरीले पक्राउ गरेको थियो । समितिले भने उनीहरुमाथि झूटो आरोप लगाइएको दाबी गर्दै तत्काल रिहाइ गर्न माग गरेको छ।












