Kathmandu Press

जोखिम बढेपछि रौतहटमा सडक किनारबाट माटो झिक्न प्रतिबन्ध

पालिकाभित्र सडक निर्माणका लागि भन्दै निर्माण कम्पनीले जथाभावी माटो खन्ने र झिक्ने गरेको पाइएपछि पालिकाले त्यसमा रोक लगाएको हो।
जोखिम बढेपछि रौतहटमा सडक किनारबाट माटो झिक्न प्रतिबन्ध

रौतहट, मंसिर १२ : रौतहटको गौर नगरपालिकाले सडकको किनारमा माटो खनेर झिक्न प्रतिबन्ध लगाएको छ।

पालिकाभित्र सडक निर्माणका लागि भन्दै निर्माण कम्पनीले जथाभावी माटो खन्ने र झिक्ने गरेको पाइएपछि पालिकाले त्यसमा रोक लगाएको हो।

Hardik ivf

विगतमा सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले सडक छेउका माटो कटान गरी प्रयोग गर्ने गरेकाले सडकको सौन्दर्य गुमेको र ठाउँ ठाउँमा मानवीय र भौतिक क्षति हुने गरेको पाइएपछि नगरभित्र प्रतिबन्ध गरिएको नगर प्रमुख शम्भु साहले जानकारी दिए।

‘वर्षातको समयमा खाल्डोमा पानी जम्ने र बालबालिकाको ज्यान समेत जाने गरेको घटना भएकाले यस्ता कार्य नगर्न भनेका हौं,’ उनले भने, ‘अबदेखि नगरभरि सडक निर्माण गर्दा ठेकेदार र निर्माण कम्पनीले सडकको छेउबाट माटो काट्न पाउने छैनन्।’

सडक तथा पूल निर्माण गर्नका लागि कम्पनीको लागत तथा इष्टिमेटमा माटोको लागि छुट्टै रकमको व्यवस्था गरिएको भए पनि ठेकेदारहरुले आफ्नो स्वार्थ र सुविधाका लागि सडकको किनारबाट जथाभावी मोटो खनेर प्रयोग गर्दा स्थानीयलाई समेत समस्या भएको साहले बताए।

सडक किनार नजिकको खेतबाट माटो झिक्न थालेपछि अन्न उत्पादनमा समेत असर परेको स्थानीय कृषक बताँउछन्। कृषि उत्पादनमा असर पर्नुका साथै जोखिम समेत भएकाले खाल्डो खन्ने प्रवृत्ति रोक्नका लागि नगरपालिका तथा सरोकारवाला निकायसँग स्थानीयले आग्रह गरेका थिए।

सडक छेउमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर वर्षेनी बालबालिकाको ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। नगरपालिकाको सो निर्णयले जोखिम कम हुने प्रशासन र स्थानीयको विश्वास छ।

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्