हमास र इजरायलबीचको युद्धविराम थप २ दिन लम्बियो
इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ।दोहा, मंसिर १२ : गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ। सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए।
इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले सोमबार साँझ गाजा पट्टीमा थप दुई दिनका लागि मानवीय युद्धविराम लम्ब्याउने सहमति भएको बताए। द्वन्द्वरत पक्षबीच चार दिने युद्धविरामको अन्तिम दिन घोषणा गरिएको हो।
हमासले पनि कतार र इजिप्टसँग इजरायलसँगको मानवीय युद्धविरामलाई दुई दिन लम्ब्याउन सहमत भएको विज्ञप्ति जारी गरेको छ।
हमासका एक अधिकारीले कतार र इजिप्टका प्रयासमा अस्थायी मानवीय युद्धविराम थप दुई दिन लम्ब्याउन सम्झौता भएको बताएका थिए। सम्झौताका सर्तहरूमा कुनै परिवर्तन भएको छैन। यसपटक पनि सम्झौतामा विगतको युद्धविरामको जस्तै शर्त रहनेछ।
यसैबीच, प्यालेस्टिनी कूटनीतिज्ञ रियाद अल्माल्कीले युरोपेली संघ, पश्चिम एसियाली र उत्तर अफ्रिकी देशहरूका सदस्यहरूसँगको बैठकमा गाजामा युद्धविरामलाई थप गर्न जोड दिन अनुरोध गरे।