चन्द्रागिरिमा ‘ड्रिम वर्ल्ड एम्युजमेन्ट’ पार्क
-1700979908.jpg)
काठमाडौं, मंसिर १० : चन्द्रागिरि नगरपालिका वडा नंं–७ घुमाउने टोलमा एउटा भवनमा निर्मित ‘ड्रिम वर्ल्ड एम्युजमेन्ट’ पार्क सञ्चालनमा आएको छ।
शनिबारदेखि सञ्चालनमा आएको सो पार्क निर्माणमा ६ करोड लगानी लागेको बताइएको छ। पाँच रोपनी क्षेत्रफलमा फैलिएको पार्कका सञ्चालक अध्यक्ष सुमन किशोर पुनका अनुसार त्यहाँ मनोरञ्जनका लागि थ्रीडी आर्ट र विभिन्न आकृतिहरुको भरिएको छ । पर्याप्त पार्किङ स्थलको व्यवस्था रहेको पार्कमा फास्टफुड क्याफे र रेस्टुरेन्टसहितका सुविधा उपलब्ध छन्। एउटा घरभित्र स्थापना भएको पार्कलाई सपनाको संसार भएको बताउँछन् पार्कका अध्यक्ष सुमन किशोर पुन ।
उनले भने, ‘ड्रिमवर्ल्ड एउटा घरभित्र निर्माण गरिएको मनोरञ्जनात्मक पार्क हो । यो एउटा सपनाको संसार नै हो । यस घरभित्र नयाँ र आकर्षक विषेश प्रविधियुक्त वस्तु, चित्र तथा मनोरञ्जनका साधनहरूबाट नौलो र रोचक अनुभवहरू दर्शकले लिन सक्नुहुन्छ । हामीले सबै उमेरका व्यक्तिहरूलाई लक्षित गरी यहाँको व्यवस्था मिलाएका छौं । यहाँ भिडियो तथा तस्बिरहरू खिच्दै रेस्टुरेन्टमा विभिन्न परिकारहरूको स्वादमा पर्यटक रमाउन सक्छन् ।’
पुनले आधुनिक व्यस्थ जीवनशैली, बढ्दो सहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित व्यक्तिहरुका लागि मनोरञ्जन दिने हेतु ड्रिम वल्र्डको परिकल्पना गरिएको जानकारी दिए।
उपत्यकाको भिडभाडबाट जोगिए शान्त प्राकृतिक वातावरणमा रम्न चाहनेहरूका लागि चन्द्रागीरिमा रहेको पार्क उपयुक्त गन्तव्य हुने विस्वास पुनको छ। सञ्चालकले हिजोदेखि एक महिनासम्म सबै आगन्तुकहरूलाई टिकट मूल्यमा २५ प्रतिशत छुट गरेर प्रतिव्यक्ति रू ४५० मात्र लिने जानकारी गराएको छ।












