पाकिस्तानमा दुई पूवै सैनिक अधिकारीलाई कोटमार्सल
दुवै अधिकारी विदेशमा बस्छन् र वरिष्ठ सैन्य नेतृत्वको आलोचक मानिन्छन्। सैनिक अदालतले सजाय सुनाएको बेला पनि दुवै अनुपस्थित रहेका थिए।इस्लामावाद, मंसिर १० : पाकिस्तानको एक सैन्य अदालतले दुई सेवानिवृत्त सेना अधिकारीको कोर्ट मार्शलको फैसला सुनाएको छ।
अदालतले उनीहरुलाई देशद्रोहको अभियोगमा क्रमश १४ र १२ वर्षसम्म कैदको सजाय शनिबार सुनाएको छ।
कारबाही भएका अधिकारीहरूमा सेवानिवृत्त मेजर आदिल फारुक रजा र सेवानिवृत्त क्याप्टेन हैदर रजा मेहदी रहेका छन्।
दुवै अधिकारी विदेशमा बस्छन् र वरिष्ठ सैन्य नेतृत्वको आलोचक मानिन्छन्। सैनिक अदालतले सजाय सुनाएको बेला पनि दुवै अनुपस्थित रहेका थिए।
मेजर रजा र क्याप्टेन मेहदीलाई पाकिस्तानी सेना ऐन, १९५२ अन्तर्गत सेनाका कर्मचारीहरूलाई देशद्रोह उक्साउने अभियोगमा सजाय सुनाइएको छ। उनले जासुसीसँग सम्बन्धित आधिकारिक गोप्य ऐन, १९२३ को प्रावधानहरू पनि उल्लङ्घन गरेको बताइएको छ।
उक्त मुद्दामा रजालाई १४ वर्ष कैद र मेहदीलाई १२ वर्ष कैद सजाय सुनाइएको थियो। तर, दुवै अधिकारी पाकिस्तानमा नभएकाले सजाय भुक्तान भने उनीहरुले गर्ने छैनन्।
दुवै अधिकारी विरुद्ध यो मुद्दा मे ९ को घटनापछि सुरु भएको थियो। त्यसदिन पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अध्यक्ष इमरान खानलाई गिरफ्तार गरेपछि व्यापक हिंसा भड्किएको थियो र महत्वपूर्ण सैन्य प्रतिष्ठानमा आक्रमण भएको थियो।
यस वर्ष जुनमा रजा र मेहदी सहित चार जनालाई इस्लामावादको रमना पुलिस स्टेशनमा ९ मेको हिंसात्मक प्रदर्शनमा भीडलाई उक्साएको आरोपमा मुद्दा दायर गरिएको थियो।
रजा र मेहदीमाथि युट्युबमा भिडियो अपलोड गरेको आरोप छ। रजा विशेष गरी इमरानको पार्टी पीटीआईको समर्थनमा पोस्ट गर्नका लागि परिचित छन्।
गत वर्ष मात्रै उनी बेपत्ता भएको खबरका बीच लन्डनमा फेला परेका थिए। दुवैमाथि ९ मेको घटनाका सम्बन्धमा जनतालाई उक्साएको आरोप छ।