Kathmandu Press

चिकित्सा क्षेत्रमा सुधार नचाहनेको विरुद्ध लागेको छु : स्वास्थ्यमन्त्री बस्नेत

चिकित्सा क्षेत्रमा सुधार नचाहनेको विरुद्ध लागेको छु : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, मंसिर ९ : स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा क्षेत्रमा सुधार नचाहनेको विरुद्धमा आफू अघि बढेको भन्दै त्यसमा सबैले साथ दिनुपर्नेमा बताएका छन्। 

आज ट्रमा सेन्टरको १०औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले चिकित्सा क्षेत्रमा देखिएको समस्या समाधान र स्वास्थ्य क्षेत्र सुधारको लागि चिकित्सा शिक्षा ऐन संशोधनमा आफूले अघि सारेको प्रस्तावले हाल डाक्टर नर्सले भोगिरहेको समस्या समाधान हुने दाबी गरे।

अनुभवी डाक्टर, नर्सले आफ्नो दक्षता र क्षमताको आधारमा पढाउन पनि पाउने र काम गर्न पनि पाउने व्यवस्था रहेको उनको भनाई छ। त्यसले उनीहरुको आर्थिक अवस्था सुधार हुने उनले धारणा छ। 

उनले संशोधनमा आफूले नर्स र डाक्टरले कामसँगै आफ्नो क्षमता र दक्षताको आधारमा पढाउन पाउने कुरालाई जोड दिएर प्रस्तावमा समेटेको र सो प्रस्तावको प्रधानमन्त्रीले समेत प्रशंसा गरेको उल्लेख गरे।

‘नेपाललाई चिकित्सा शिक्षाको हब बनाउन सक्ने वातावरण र हैसियत हुँदाहुँदै पनि हाम्रो बुद्धिमा खिया लागेर हो वा हामी कसैको बहकाउमा लागेर दलाली गर्न खोजेर हो हामी अल्मलिएका छौ। अब कसैका पछि लागेर हिँड्ने होइन सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ।’

चिकित्सा शिक्षा सुधारको माग गरी लामो समय अनशन बसेका डा गोविन्द केसीलाई व्यङ्ग्य गर्दै उनले भने, ‘यो दिनदेखि सुत्दिन्छु भन्नुहुन्छ एक जनाले उहाँ अनशन बस्नुभएपछि तपाईंहरु सेतोकोट लगाएर ज्यान बचाउ भनेर हिँड्नुहुन्छ। किन हिँड्नुभयो भनेर सोध्यो भने ज्यान जोगाउनलाई भन्नुहुन्छ। त्यस्तो पनि हुन्छ ? कन्भिन्स गर्नुपर्यो नि। यो देश र जनताको लागि अहित छ, अब यो काम हामीले गर्न हुँदैन तपाईँ ठिक मान्छे हो तपाईलाई सञ्चालन गर्ने गिरोह गलत छन् भनेर किन भन्न नसक्ने ? अब भन्नुपर्छ तपाईंहरुले। यो अभियान अगाडि बढ्दा तपाई डाक्टर साथीहरु दायाँबायाँ गर्नु पाउनु हुँदैन साथ दिनुपर्छ।’

उनले स्वास्थ्य क्षेत्रमा नेता र पावरको भरमा भैरहेको बेथितिलाई आफूले ऐन संशोधन गर्न अघि सारेको प्रस्ताव कार्यान्वयनमा आए समाधान हुने दाबी गरे। 

‘एकथरि नेतालाई आफ्नो जिल्ला जिल्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान चाहिएको छ। नेतैपिच्छे र जिल्लैपिच्छे प्रतिष्ठान बनाउनुपर्ने रे। डाक्टरलाई बिरामी र बिरामीलाई पो डाक्टर चाहिने होला नि। यस्तो भाँडभैलो भैरहेको छ। त्यसलाई मैले प्रस्ताव राखेको कुराहरु कानूनी रुपमा सम्बोधन भएर कार्यान्वयनमा आयो भने सातै प्रदेशमा मेडिकल कलेजहरु खोलिन्छन,’ उनले भने।

चिकित्सा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्न पहिलो दिनबाटै लागिरहेको बताएका उनले त्यसमा सफल भएरै छाड्ने र नेपाललाई चिकित्सा शिक्षाको हब बनाउने उनको भनाई छ। तर, यसको सुधार नचाहने समूह सक्रिय भएर लागेकोले ऐन संशोधन भएपछि पनि कानून निर्माणमा ढिलाई हुने उनको धारणा छ। 
 

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्