झापामा पूर्वराजा, पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने
मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले ठूलो संख्यामा मोटरसाइकलसहित र्याली आयोजना गरिने जनाइएको छ।
झापा, मंसिर ९ : पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोडस्थित इकम कलेजमा बनाइएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने भएका छन्।
सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘शक्ति प्रदर्शन’ पनि गर्ने छ। मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले ठूलो संख्यामा मोटरसाइकलसहित र्याली आयोजना गरिने जनाइएको छ।
र्यालीसहित पूर्वराजा शाह मेचीनगरबाट बिर्तामोड पुगेर सालिक अनावरण गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।
कार्यक्रममा सहभागी हुन पूर्व राजा शाह हिजो शुक्रबारै झापा आइपुगेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमको तयारीका सिलसिलामा साताभन्दा बढी समयदेखि गृहजिल्ला झापामा छन्। राप्रपा नेताहरुका अनुसार पूर्वराजा शाहले सर्वसाधारण भेट गर्ने कार्यक्रम पनि राखिएको छ।
कार्यक्रममा सहभागी हुन झापाका विभिन्न क्षेत्रबाट सर्वसाधारणको सहभागिता हुने जनाइएको छ। ५० हजारको सहभागिता रहने दाबी गरिएको कार्यक्रममा छिमेकी जिल्ला इलाम, पाँचथर, मोरङ, सुनसरीलगायत क्षेत्रबाट पनि सहभागिता हुने राप्रपाले जनाएको छ।
राजतन्त्रका पक्षमा विभिन्न समूहहरुद्वारा प्रदर्शन भइरहेका बेला झापामा पूर्वराजा शाह सहभागी हुने कार्यक्रम तय भएकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।











