‘लैंगिक हिंसा राष्ट्रिय नीतिसँग जोडिएको समस्या हो’
आजबाट सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले नेपालमा संविधानको मूल मर्म अनुसार कानून निर्माण गर्नु अत्यन्त आवश्यक भएको बताए।
काठमाडौं, मंसिर ९ : प्रधानमन्त्री पुष्पकमल दाहालले लैंगिक हिंसा व्यक्ति, समाज वा परिवारको मात्र समस्या नभएर राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गरेको नीतिहरुसँग जोडिएको समस्या भएको बताएका छन्।
आजबाट सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले नेपालमा संविधानको मूल मर्म अनुसार कानून निर्माण गर्नु अत्यन्त आवश्यक भएको बताए।
‘लैङ्गिक समानताको मुद्दालाई सामाजिक न्याय, सुशासन र सम्वृद्धिसँग अनिवार्य रुपमा जोडेर उनीहरुका लागि राज्यका तर्फबाट लगानी वृद्धि गर्ने र संविधानको मूल मर्म अनुरुप कानून निर्माण गर्दै महिला तथा बालबालिका लक्षित कार्यक्रमहरुलाई सबै क्षेत्रमा मूल प्रवाहिकरण गर्नु अत्यन्त जरुरी छ,’ प्रधानमन्त्री दाहालले भिडियो सन्देश जारी गर्दै भनेका छन्।
प्रधानमन्त्री दाहालले संघीय संरचना अनुसकार तीन वटै तहका सरकारमा लैंगिक हिंसाविरुद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई आन्तरिकिकरण र संस्थागत गरी संवेदनशील र महत्वका साथ अगाडि बढाउनुपर्ने भन्दै सबैलाई त्यसका लािग आग्रह गरे।
लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि सरकारको एकल प्रयास प्रयाप्त नभएको उल्लेख गरेका उनले व्यक्ति,परिवार,संस्था,संरचना सबैमा चेतना र रुपान्तरण हुनुपर्ने उनले बताए।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै छ।











