‘प्रविधिको विकाससँगै लैंगिक हिंसाको स्वरुप परिवर्तन चुनौतीपूर्ण’
‘लैंगिक हिंसाका स्वरुप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले हामीलाई थप चुनौती रहेको पक्षलाई स्वीकार गर्दै नेपाल प्रहरी पीडितलाई न्याय दिने प्रयासमा प्रतिबद्ध छ,’ उनले भने।
काठमाडौं, मंसिर ८ : प्रविधि विकाससँगै समाजमा देखा परेको लैंगिक हिंसाका स्वरुप परिवर्तन भइरहँदा घटना छानबिन र पीडितलाई न्याय दिलाउने काम जटिल बनेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनौतीका बाबजुद प्रहरीले पीडितका पक्षमा काम गरिरहेको बताए।
प्रविधिको विकाससँगै आधुनिक समाजमा लैंगिक हिंसाको स्वरुपमा भइरहेको परिवर्तनले शान्ति सुरक्षा कायम गर्न चुनौती थपेको उनको भनाइ थियो। प्रविधिमैत्री तवरबाटै चुनौती समाधान गरी पीडितलाई न्याय दिन प्रहरी प्रतिबद्ध रहेको उनले बताए।
‘लैंगिक हिंसाका स्वरुप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले हामीलाई थप चुनौती रहेको पक्षलाई स्वीकार गर्दै नेपाल प्रहरी पीडितलाई न्याय दिने प्रयासमा प्रतिबद्ध छ,’ उनले भने।
नेपाल प्रहरी संगठनले लैंगिक हिंसाका घटनालाई उच्च प्राथमिकता र संवेदनशीलताका साथ सम्बोधन गर्दै आएको उनले बताए।