शृंखलाबद्ध लुटपाट घटनामा संलग्न समूह हतियारसहित पक्राउ
गत भदौ महिनामा मोरङको विभिन्न स्थानमा भएका धनमाल लुटका घटनामा संलग्न समूहका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विराटनगर, कात्तिक २२ : मोरङका विभिन्न स्थानमा हतिनयार देखाएर धम्क्याउँदै शृंखलाबद्ध लुटपाटको घटनामा संलग्न समूहलाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ महिनामा मोरङको विभिन्न स्थानमा भएका धनमाल लुटका घटनामा संलग्न समूहका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गर्ने काममा उनीहरु सक्रिय रहेको प्रहरीको भनाइ छ।
शृंखलाबद्ध लुटका घटना बढेपछि प्रहरीले ‘अपरेसन सिएरा ब्राभो कन्ट’ अभियान चलाएको थियो। उक्त अभियानका क्रममा लुटपाटमा संलग्न समूहका सातजनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।
पक्राउ पर्नेमा ४० वर्षीय रिजवान मियाँ, २४ वर्षीय नजरुल मियाँ, ३१ वर्षीय मोहम्मद अलि, मुरताजा मियाँ, ३० वर्षीय नजरूल मियाँ र ४० वर्षीय मोहम्मद आलम छन्। उनीहरुले प्रयोग गरेको मोबाइलको ‘लक’ खोलेर आपराधिक काममा सहयोग गर्ने मोबाइल पसल सञ्चालक ३० वर्षीय सिजाम आलमलाई १ लाख रुपैयाँ धरौटीमा छाडिएको छ।
उनीहरुको साथबाट कटुवा पेस्तोल, प्रहरीबाट केही समयअघि लुटिएको चिनियाँ पेस्तोल, मोबाइल फोन १६ वटा, मेमोरी कार्ड १२ बरामद गरिएको प्रहरीले जनाएको छ। यसैगरी उक्त समूहको साथबाट प्रहरीले १ लाख ७५ हजार २ सय ७५ रुपैयाँ र ११ हजार ६ सय भारतीय रुपैयाँका साथै दुईवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
डाँका चोरी र संगठित अपराधअन्तर्गत अनुसन्धान गरी उनीहरुमाथि मुद्दा चलाइएको छ।












