कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७५ प्रतिशत सफल, १५ जनाको परीक्षा रद्द

काठमाडौं, कात्तिक २३ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षामा ७५.४५ प्रतिशत परीक्षार्थी ग्रेडवृद्धि प्राप्त गर्न सफल भएका छन्।
बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कुल परीक्षार्थीको ७५.४५ प्रतिशत परीक्षार्थी ग्रेडवृद्धि गर्न सफल भएका हुन्।ग्रेडवृद्धि परीक्षामा १ लाख १७ हजार ८८२ परीक्षार्थीहरु सहभागी भएकाेमा ८८ हजार ९४७ जनाले ग्रेडवृद्धि प्राप्त गरेका छन्। कार्यालयले १५ जना विद्यार्थीको परीक्षा रद्द गरेको जनाएको छ। असोज ९ र १० गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिएको थियाे।
ग्रेडवृद्धि परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले ७ मंसिरपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र ग्रेडवृद्धि (टिएमपिजी) प्रमाणपत्रका लागि रसिद काट्न सक्ने जनाएको बाेर्डकाे भनाइ छ।
शैक्षिक प्रमाणपत्र लिन कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न हुनुपर्ने जनाइएकाे छ। नतिजामा चित्त नबुझे १५ दिन (मंसिर ८) भित्र सम्बन्धित कार्यालयमा आवेदन दिन सक्नेछन् ।












