श्रमिकका लागि कार्यस्थलको सुरक्षामा जोड
चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा ६० हजारभन्दा बढी श्रमिकले चियाको बोट स्याहार्नेदेखि बजार पुर्याउँदासम्म काम गरिरहेका छन्।
विराटनगर, कात्तिक २२ : नेपालमा करिब १७ हजार हेक्टरमा चिया खेती हुन्छ। वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ। चियामा १७ हजारभन्दा बढी किसान आबद्ध छन्।
चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा ६० हजारभन्दा बढी श्रमिकले चियाको बोट स्याहार्नेदेखि बजार पुर्याउँदासम्म काम गरिरहेका छन्। तर, चियावगान र चिया कारखानामा काम गर्ने श्रमिकका लागि स्वास्थ्य र सुरक्षाको क्षेत्रमा न सरकारले लगानी गरेको छ न त उद्यमीले नै। श्रम ऐनमा व्यवस्था भएका कतिपय सुविधाबाट समेत चिया श्रमिक र अलंैची खेतीमा काम गर्ने श्रमिक वञ्चित छन्।
पछिल्लो समय स्वास्थ्य र सुरक्षाबारे सचेतना जगाउने उद्देश्यले इलाम र झापाका श्रमिकहरु लागि सञ्चालन गरेको विशेष कार्यक्रमबाट भने श्रमिक आफैँले आफ्नो स्वास्थ्य र सुरक्षामा चासो देखाउन थालेका छन्। उद्यमीहरु समेत यस विषयमा सचेतता अपनाउनु पर्ने रहेछ भन्न थालेका छन्। श्रमिकहरुको स्वास्थ्य र सुरक्षाका लागि सचेत भएर ध्यान दिने गरिएको चिया इलामका उद्यमी नन्दलाल भट्टराई बताउँछन्।
इलाम र झापाका चिया बगानमा कार्यरत श्रमिकलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कानुन र नीतिलगायत विषयमा सचेतना जगाउने विशेष कार्यक्रमअन्तर्गत सचेतनामूलक तालिम लगायतको कार्यक्रम सञ्चालन गरिँदै आएको छ। कार्यक्रम सञ्चालनपछि त्यस क्षेत्रमा कार्यरत श्रमिकहरुले व्यावसायिक सुरक्षा र स्वास्थ्यबारे पहिले जानकारी नभएको विषयमा जानकारी पाएको बताएका छन्।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले केही महिना अघिदेखि कोशी प्रदेशको इलाम जिल्लाका २० जनाभन्दा बढी कामदार रहेको उद्योगमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम ‘पाइलट प्रोग्राम’ का रुपमा सञ्चालन गरेको परियोजनका कार्यक्रम फिल्ड संयोजक गोपाल पौड्यालको भनाइ छ।
कार्यक्रमअन्तरगत हालसम्म इलामका १४ चिया उद्योग र झापाका ९ अलैँची उद्योग र ७ वटा चिया उद्योगका ५८० जना श्रमिकलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम लागू भएका ३० उद्योगका २ जनाका दरले दुबै जिल्लामा श्रमिकलाई प्राथामिक स्वास्थ्य उपचार तालिम प्रदान गरिएको छ।
परियोजनाले श्रमिक व्यवसायी दुबै पक्षलाई सहयोग पुग्ने अन्तर्राष्ट्रिय श्रम संघ संगठन (आइएलओ) की दक्षिण एसिया हेर्ने प्रमुख प्राविधिक सल्लाहकार भारती विर्लाको भनाइ छ। कार्यक्रम सञ्चालन भएपछि इलाम र झापाका ३० उद्योगमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य समिति गठन गरेर उद्योगमा सचेतना कार्यक्रम सञ्चालन गरेको महासंघका सहनिर्देशक तथा परियोजना व्यवस्थापक हरि पौड्यालले बताए।
इलाममा चिया अलैँचीबाहेक अदुवा, दुग्ध उद्योगलगायतमा पनि उल्लेख्य संख्यामा श्रमिक रहेकाले त्यस क्षेत्रमा रहेका श्रमिकहरुलाई पनि व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका विषयमा जानकारी गराउनु पर्ने सरोकारवालाको माग छ।












