चिसो बढेपछि बेँसी सारिँदै गोठ
मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताए।
मनाङ, कात्तिक २२ : हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ। अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन्।
मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताए। हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको उनले बताए।
मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिकरूपमा भेडाच्याङ्ग्रापालन गर्दै आएका छन्। चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उनी बताउँछन्।
व्यावसायिकरूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उनले बताए।
‘गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन,’ गत वर्ष हिमपहिरामा परी दुई सय ५० भन्दा बढी भेडाच्याङ्ग्रा तथा चौंरी मरेको सुनाउँदै उनले भने, ‘अहिले त झन् हिउँचितुवाले पनि सताएको छ।’
पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताए। अहिले साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुने गरेको गुरुङले सुनाए।












