Kathmandu Press

मधेसका सीमा स्तम्भको पुनर्निर्माण, मर्मत र पुनः स्थापना गर्न सुरु

मधेसका सीमा स्तम्भको पुनर्निर्माण, मर्मत र पुनः स्थापना गर्न सुरु

सर्लाही, कात्तिक १८ : नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको पुनः निर्माण, मर्मत एवं पुनः स्थापना गर्न सुरु गरिएको छ।

सशस्त्र प्रहरीले मधेस प्रदेशका आठै जिल्लास्थित नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भको पुनःनिर्माण, मर्मत र पुनःस्थापना गर्न सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिए।

उनका अनुसार मधेस प्रदेशको पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्मको करिब चार सय किलोमिटर लम्बाइमा रहेका एक हजार ७४ पिल्लरको पुनःनिर्माण, मर्मत र पुनःस्थापना गर्न सुरु गरिएको हो। नेपाल–भारत सीमा क्षेत्रमा रहेका पिल्लरमा नेपाल पक्षले बिजोर नम्बरका पिल्लरको आवश्यकतानुसार पुनःनिर्माण, मर्मत र पुनःस्थापनाको काम गर्न सुरु गरेको सशस्त्र प्रहरीले जनाएको छ।

उनका अनुसार विसं २०७७ साउन १९ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सीमा क्षेत्रमा रहेका स्तम्भको निर्माण, मर्मत सम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड २०८० बमोजिम बिजोर नम्बरका सीमा स्तम्भको पुनःनिर्माण, मर्मत र पुनःस्थापनाको काम सुरु गरिएको छ।

यस कार्यले सीमाको संरक्षण हुनाका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल–भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्मरुपमा अध्ययन गर्न सघाउ पुग्ने सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले बताए। उनले भने, 'यस कार्यमा स्थानीय जनप्रतिनिधिको महत्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौँ।' 

प्रकाशित मिति: १५:२८ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्