तारा एअरका झगडिया दुई क्याप्टेनले प्रहरीमा गरे मिलापत्र

रामेछाप, कात्तिक १८ : रामेछापको मन्थली विमानस्थलमा शुक्रबार झगडा गरेका तारा एअरका दुई क्याप्टेनले प्रहरीसमक्ष मिलापत्र गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापमा भएको दुई पक्षबीचको छलफलपछि वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच सहमति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। क्याप्टेन श्रेष्ठले साहसँग माफी मागेपछि उनीहरुवीचको झगडा मिलेको प्रहरीले जनाएको छ। क्याप्टेन सञ्जीव श्रेष्ठले साहलाई लडाएको भन्दै विवाद भएको थियो।
रामेछापका प्रहरी प्रमुख (डिएसपी) होमबहादुर पराजुलीका अनुसार श्रेष्ठले साह आफ्नो गुरु भएकाले अञ्जानवश सो घटना भएको भन्दै माफी मागेका थिए। साहलाई आफूले नियतवश नलडाएको र लडाउने कुनै योजना पनि नभएको तर हात मिलाउन खोज्दा घटना भएको बताए।
दुवैले आत्मालोचना गर्दै मेलमिलाप गरेका पराजुलीले जानकारी दिए। नेपाल नागरिक उडड्यन प्राधिकरणले भने दुवै पाइलटलाई निलम्बन गरिसकेको छ। घटनाको छानबिन पछि उनीहरूको लाइसेन्स खारेज गर्ने वा अन्य सजाय गर्नेबारे निर्णय लिइनसकेको प्राधिकरणले जनाएको छ।
उता प्राधिकरणको मन्थली कार्यालयका प्रमुख अशोक थापालाई पनि प्राधिकरणले कारबाही गरेको छ। पाइलटबीच हात हालाहाल भएपछि दुबैलाई ग्राउण्डेड गर्नु पर्नेमा क्याप्टेन श्रेष्ठलाई लुक्ला उडान गर्न अनुमति दिएका कारण नागरिक उड्ययन प्राधिकरण रामेछापका प्रमुख अशोक थापालाई प्राधिकरणले निलम्बन गरेको छ।
साहसँग झगडा गरेपछि श्रेष्ठ जहाज लिएर लुक्ला उडेका थिए। प्राधिकरणले उनलाई लुक्लामा ग्राउण्डेड गराएको थियो। साहले रामेछाप प्रहरीमा उजुरी गरेपछि श्रेष्ठलाई प्रहरीले रामेछाप झिकाएको थियो। उनी सोलुबाट रामेछाप आउने जहाजमा यात्रीका रूपमा मन्थली आएर जिल्ला प्रहरी कार्यालय रामेछापमा हाजिर भएका थिए।












