Kathmandu Press

पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

काठमाडौँ, कात्तिक १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ। 

पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ। भूकम्प प्रभावितको राहत तथा उद्धारमा राज्यका सम्बन्धित संयन्त्रसँग आवश्यक समन्वय गर्दै सक्रियरुपमा परिचालित हुन आह्वान गरेको छ।

पार्टीले भूकम्प प्रभावित क्षेत्रमा कुनै किसिमको कमीकमजोरी नहुने गरी पीडितको उद्धार तथा घाइतेको उपचार र राहतका लागि तत्काल राज्यका सबै संयन्त्र सक्रिय बनाई परिचालन गर्न सरकारसँग मागसमेत गरेको छ।  
    
पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार राहत तथा उद्धारका लागि पार्टीकातर्फबाट सांसद सुमना श्रेष्ठलाई व्यवस्थापनको जिम्मवारी दिइएको छ।

साथै सांसद डा तोसिमा कार्की र डा प्रभात अधिकारीले स्वास्थ्य उद्धार तथा विष्णुकुमार श्रेष्ठले राहत तथा उद्धार र केन्द्रीय सदस्य प्रतिभा रावलले टिम व्यवस्थापन एवं अन्य समन्वय समितिको जिम्मेवारीसहित परिचालन गरिएको छ। पार्टीले पाल्पा, गुल्मी र अर्घाखाँचीका लागि तय गरेका खुलासभा तत्कालका लागि स्थगित गरेको  छ। 

प्रकाशित मिति: १४:१२ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्