ज्योतिषशास्त्रको वैज्ञानिक अध्ययनमा सञ्चारमन्त्रीको जोड
देशका केही स्थानमा धार्मिक सद्भाव बिथोल्ने गतिविधी हुने गरेको बताउँदै उनले सबै धर्मको सम्मान गरेर धार्मिक सद्भाव कायम गर्नु हर नागरिकको दायित्व हुने बताइन् ।
दाङ, कात्तिक १६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ज्योतिष विद्याको वैज्ञानिक अध्ययन आवश्यक भएको बताएकी छिन्।
नेपाल ज्योतिष परिषद्को १८औँ राष्ट्रिय सम्मेलनको घोराहीमा भएको कार्यक्रममा मन्त्री शर्माले ज्योतिषबारे भएका भ्रम हटाएर यो वैज्ञानिक र पूर्वीय दर्शनको महत्त्वपूर्ण पाटो हो भनेर बुझ्नुपर्ने बताइन्।
‘पूर्वीय दर्शनप्रतिको विश्वास संसारभर छ तर यो विज्ञान हाम्रो हो भनेर अपनत्व र अधिकार कायम गर्न सकेका छैनौं,’ उनले भनिन्।
पूर्वीय दर्शनको ज्ञानका आधारमा वैज्ञानिक आविष्कार भएका बताउँदै मन्त्री शर्माले संस्कृत विश्वविद्यालयलाई केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। उनले धार्मिक सहिष्णुता कायम गर्न सबै नेपाली सधै सजग एवं एकताबद्ध हुनुपर्ने बताइन्।
देशका केही स्थानमा धार्मिक सद्भाव बिथोल्ने गतिविधी हुने गरेको बताउँदै उनले सबै धर्मको सम्मान गरेर धार्मिक सद्भाव कायम गर्नु हर नागरिकको दायित्व हुने बताइन् । संविधानले सुनिश्चित गरेको धार्मिक सांस्कृतिक अधिकारको संरक्षणमा सरकार दृढ रहेको पनि उनले स्पष्ट पारिन्।
जोतिषशास्त्र गणितीय सूत्रमा आधारित विज्ञान भएकाले उल्लेख गर्दै उनले यस क्षेत्रमा अझै बढी खोज अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
ज्योतिषशास्त्रलाई अन्धविश्वासबाट मुक्त गरेर गणितीय विज्ञानको रुपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै उनले दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले ज्योतिषशास्त्रसहित समग्र पूर्वीय दर्शनको अध्ययन अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताइन्।












