पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्छ : महामन्त्री थापा
पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा भएका पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने गरी बनाउन नीतिगत पहल गर्नुपर्नेमा उनले जोड दिए।
म्याग्दी, कात्तिक १५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग मासिन थालेकामा चिन्ता व्यक्त गरे।
‘कास्कीको नयाँपुलदेखि म्याग्दीको घोडेपानी आउँदा सडकमा पर्यटकहरु धुलो खाँदै असहज रुपमा हिँडिरहेको देख्दा दुस्ख लाग्यो,’ थापाले भने, ‘नेपालको पर्यटन क्षेत्रको विशिष्टता बोकेको पदमार्ग हुन्। पदमार्गको संरक्षण गरी यात्रा सहज बनाउनेतर्फ सबै सचेत बन्नुपर्ने देखिएको छ।’
पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा भएका पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने गरी बनाउन नीतिगत पहल गर्नुपर्नेमा उनले जोड दिए।
शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुको संरक्षणका साथै पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने थापाको भनाइ थियो। काठमाडौंदेखि पोखरा आएर नयाँ पुल उल्लेरी पैदलयात्रामार्फत घोडेपानी आएका थापाले नेपालीलाई विदेश भन्दा नेपालकै पर्यटकीयस्थल घुम्नुपर्नेमा जोड दिए।
‘स्वदेशी पर्यटक विदेश घुम्न जाने धेरै हुँदा नेपालको पैसा बाहिरिएको छ,’ महामन्त्री थापाले भने, ‘नेपालमै प्राकृतिक सम्पदा तथा पर्यटकीयस्थल धेरै छन्। कतिपय पर्यटकीय ठाउँ ओझेलमा छन्। ती ठाउँहरुको पहिचान, प्रवर्द्धन गरेर विदेशिने पैसा रोक्न नीतिगत रुपमा पहल गर्नुपर्ने छ।’
समुद्रि सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलबाट धौलागिरि, गुर्जा, अन्नपूूर्ण, माछापुच्छ्रे, निलगिरि लगायतका हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ। लालीगुराँस जंगलको टाकुरामा रहेको पुनहिलको सौन्दर्यले आफूलाई मोहित बनाएको थापाको भनाइ थियो।
घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ। असोज–कात्तिक पर्यटकको यामका रुपमा मानिन्छ।












