Kathmandu Press

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

भक्तपुर, कात्तिक १० : पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ रहेको भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ। दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ। रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए। 

Hardik ivf

उनले चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव भएको बताउँदै मागअनुसार रगत उपलब्ध गराउन नसकेको बताए। यद्यपि रगत लिन भक्तपुर आउने बिरामीका परिवारलाई रित्तो फर्कनुपर्ने अवस्था भने नआएको बताए।

सहमहामन्त्री थापाले भने, 'यतिखेर देशव्यापी रुपमै रगतको अभाव चुलिएको छ। दसैँका कारण रक्तदान कार्यक्रम हुन सकेको छैन, भक्तपुरमा पनि रगतको अभाव छ, दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका छौँ, तर माग भने दैनिक एक सय ५० पिन्टसम्म हुने गरेको छ, रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भएपछि दिएका छौँ, रित्तो फर्कनु परेको छैन।'

रक्तदान नहुँदा आपत्कालीन अवस्थाका बिरामीका लागि रेडक्रसले रक्तदाताहरुलाई फोन गरेर बोलाउँदै रगत सङ्कलन गरेर पठाउने गरेको थापाले बताउनुभयो। भक्तपुरमा मात्रै नभई काठमाडौँ उपत्यकालगायत काभ्रपलाञ्चोक र उपत्यकाबाहिरबाट समेत रगत लिन भक्तपुर आउने हुँदा भक्तपुरमा माग बढी देखिएको हो। उनले आफ्नो एक पिन्ट रगतले अरूको ज्यान बाँच्ने भएकाले यो पुण्य काममा रक्तदान गरेर सहयोग गर्न सबैमा आह्वान गर्नुभयो।

भक्तपुरमा रगतको माग बढेको र रक्तदान हुन छाडेपछि रक्तदाताको लिष्ट हेर्दै दातालाई बोलाएर रक्तदान गराएर सङ्कलन गर्नु गरिरहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय पार्षद सुशील बस्नेतले जानकारी दिए। 

उनले भने, 'दसैँको अष्टमीदेखि दशमीसम्म मेरो बसाइ नै रेडक्रस सोसाइटी भक्तपुर कार्यालयमै भयो, रगतको माग अत्यधिक भएपछि दाताको नाम हेर्दै बोलाउँदै रक्तदान गर्न लगाइयो, हिजो बिहीबार पनि मलगायत मैले भनेर भाइ, बहिनी र साथीलाई कार्यालयमै गएर रक्तदान गर्‍यौँ।'

उनका अनुसार ठूला अस्पतालमा दसैँको समयमा ठूला शल्यक्रिया नभए पनि रक्त क्यान्सरका बिरामी, दुर्घटनाका बिरामी र डेङ्गुका बिरामीका लागि रगतको माग बढेको छ। डेङ्गुका बिरामी बढ्दै गएपछि रगतको माग पनि बढ्दै गएको हो भन्दै उनले दैनिक एक सय ५० जना रगत लिन कार्यालयमै आउने र रगत माग्दै सयाैं कल फोन आउने गरेको बताए।

प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, कात्तिक १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्