शेयर बजार १६०० अंकभन्दा माथि, अब के होला?
काठमाडौं, फागुन १५ : साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा ४ अर्ब ४६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। यो हालसम्मकै उच्च कारोबार रकम ह....
काठमाडौं, फागुन १५ : साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा ४ अर्ब ४६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। यो हालसम्मकै उच्च कारोबार रकम हो।
बढ्दो बजारमा कारोबार रकम पनि बढेकाले शेयर बजारमा खरिदकर्ताको चाप बढेको संकेत गर्दछ। नेप्से परिसूचक ३६ दशमलव ०५ अंकले अर्थात २ दशमलव २६ प्रतिशतले बढेर १६३२ दशमलव १७ को विन्दुमा बन्द भएको छ।
बिहीबार बैंकिङ उपसूचकमा ६ दशमलव १४ प्रतिशतले सर्वाधिक वृद्धि भएको छ। ट्रेडिङ्ग, निर्जीवन बीमा, जीवन बीमा र लघुवित्तमा भने गिरावट रहेको छ।
१५९७ दशमलव २४ को विन्दुमा खुलेको दोस्रो बजार १६३५ दशमलव ५१ को उच्च विन्दुसम्म पुगेको थियो। न्यून विन्दु १५५७ दशमलव ६८ थियो।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २८ करोड ९२ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज एभरेस्ट बैंकका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने याङ्दी ग्रुप पावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ७१ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिनको विश्लेषणको निष्कर्ष अनुसार बजार सकारात्मक रहेको र अर्को तत्कालीन प्रतिरोध १६१५ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजारको पहिलो समयमा केही उतारचढाव रहेपनि त्यो क्षणिक रुपमा रहेको थियो। पछिल्लो समयमा बजारले १६१५ को प्रतिरोधलाई तोडेबापत बजार पुनः बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले बजारको पहिलो कारोबार समयमा विक्रेता रहे पनि पछिल्लो समयमा क्रेताको चाप रहेको संकेत गरेको छ। परिमाणले आजको मैनबत्तीलाई समर्थन गरेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं. २ मा, तीन दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। तीन कारोबार दिन बजार बढ्दो प्रवृत्तिमा रहेको छ। २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६७ दशमलव ३० अंकमा रहेको छ। यसको प्रवृत्ति आज सामान्य रहेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ।
निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्रमा हेर्दा बजार सकारात्मक रहेको र यदि बजार १६३६ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १६५० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १६१० भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १५९५ देखि १६०० को क्षेत्रमा रहेको देखिन्छ।