राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, असोज २६ : फिनल्याण्डका लागि नेपालका गैरआवासीय राजदूत प्रा.डा. रामस्वार्थ रायले फिनल्याण्डका राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
बुधबार हेलसिन्कीस्थित राष्ट्रपति प्रासादमा आयोजित एक विशेष समारोहमा राजदूत रायले राष्ट्रपति सौली निनिस्टोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको कोपनहेगनस्थित नेपाली दूतावासले आज जनाएको छ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत रायले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको थियो। त्यस अवसरमा राष्ट्रपतिले राजदूत रायको सफल कार्यकालको कामना गरेका थिए।
राजदूत रायले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट फिनल्याण्डका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै फिनल्याण्डका जनताको निरन्तर शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरे।
राजदूत रायले नेपाल र फिनल्याण्डबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धप्रति हर्ष प्रकट गर्दै नेपालको सामाजिक–आर्थिक विकासको प्रयासमा फिनल्याण्डबाट प्राप्त सहयोगका लागि फिनिस सरकार र जनताप्रति कृतज्ञता ज्ञापन गरे।
साथै उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।












