साथीलाई पेट्रोल छर्की आगो लगाएर भाग्ने पक्राउ, तीन घाइते
ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा काम गर्ने वर्ष २६ का शिवु भन्ने सुवास विक असोज १२ गते रातिको समयमा साथीलाई आगो लगाएर घाइते बनाई भागेकामा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो।
काठमाडौं, असोज २५ : आफूसँगै काम गर्ने साथीलाई पेट्रोल छर्की आगो लगाएर भाग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पर्साको सुवर्णपुर गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा काम गर्ने वर्ष २६ का शिवु भन्ने सुवास विक असोज १२ गते रातिको समयमा साथीलाई आगो लगाएर घाइते बनाई भागेकामा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो।
एकै ठाउँमा घर भई सोही ठाउँमा काम गर्ने वर्ष २४ का अरुण विश्वकर्मालाई पेट्रोल छर्की आगो लगाएर उनी भागेका थिए। आगो सल्किएपछि त्यहाँ रहेका अन्य दुईसमेत गरी तीन जना घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिइ।
उनीहरूको अहिले कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ। उक्त घटनामा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आगो लगाउने विकलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको हो।
उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।












