एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि
आज अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्नेछन्।
धनुषा, असोज २४ : एमाले मधेस प्रदेशको आजदेखि जनकपुरधाममा हुन लागेको प्रथम प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको छ।
आज अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्नेछन्।
उनले मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को पनि शिलान्यास गर्नुहने जनाइएको छ। मधेस प्रदेशका इन्चार्ज एवम् केन्द्रीय सचिव योगेश भट्टराईले आठ जिल्लाका ३६ वटै पालिका, विभिन्न जनवर्गीय सङ्गठन सहितका निकायबाट गरेर एक हजार २७ प्रतिनिधि अधिवेशनमा सहभागी हुने जानकारी दिए।
अधिवेशनको उद्घाटन सत्रमा सात हजार एमाले नेता कार्यकर्ताको सहभागिता रहने र अधिवेशनको समुचित व्यवस्थापनका लागि एक सय पाँचजना स्वयम्सेवक परिचालन गरिने जानकारी दिँदै उनले अधिवेशनको सुरक्षा, आवास, भोजन, सांस्कृतिक कार्यक्रम तथा स्वयम्सेवक परिचालन सहितको सम्पूर्ण कार्य पूरा भएको बताए।
प्रदेश अधिवेशन तयारी समितिका संयोजकसमेत रहेका प्रदेश अध्यक्ष रामअवतार यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ तिरहुतियागाछीस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने उद्घाटन सत्रका लागि सबै तयारी पूरा भएको छ।
प्रदेश अधिवेशनमा लाग्ने खर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको र त्यसका लागि प्रत्येक प्रतिनिधिबाट रु दुई हजार प्रवेश शुल्क तथा एमालेका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूबाट रु १०÷१० हजार सहयोग लिइने अध्यक्ष यादवले बताए।












