इतिहास बन्दै चंगा चेट [फोटोफिचर]
चीनमा आविष्कार भएसँगै एसियाका देशहरुमा लोकप्रयता बढेको पाइन्छ। सबै देशहरुले चाड मनाउन या खुसियाली साट्न चंगा उडाउँदै आएका छन्। नेपालमा खासगरी दसैं आउन केही दिनअघिदेखि चंगा उडाउने गरिन्छ।![इतिहास बन्दै चंगा चेट [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/cover1696663574.jpg)
काठमाडाैं, असाेज २० : प्लास्टिक वा कागजमा चारकुने टुक्रामा ठाडो बाँसको सिन्का र धागो घुसारेर उडाइने खेलौना नै चंगा हो। किंवदन्तीअनुसार असारको खेतीपछि भदौसम्म पानी पर्ने भएकाले अब पानी पुग्यो र धान पाक्ने बेला भयो भन्नका लागि चंगा उडाएर इन्द्रदेवलाई सन्देश पठाएको भन्ने जनविश्वास छ।

चीनमा आविष्कार भएसँगै एसियाका देशहरुमा लोकप्रयता बढेको पाइन्छ। सबै देशहरुले चाड मनाउन या खुसियाली साट्न चंगा उडाउँदै आएका छन्। नेपालमा खासगरी दसैं आउन केही दिनअघिदेखि चंगा उडाउने गरिन्छ। चंगामा मुख्य गरी चंगा, लट्टाई र धागोको मुख्य आवश्यकता हुन्छ। नेपाली बजारमा चंगा भारतबाटै आउने गर्छ। पछिल्लो समययता लट्टाइ भने नेपालमै बनाउने गरिन्छ। नेपाली लट्टाइ कम उत्पादन हुने भएकाले बजारमा पुर्याउन नसकिरहेको व्यापारीहरू बताउँछन्। ललितपुरका प्रकाश देउला सानै उमेरदेखि चंगा उडाउन मन पराउँथे। २५-३० वर्ष अघिदेखि माटोको कलात्मक सामग्री बेच्दै आएका प्रकाशले केही वर्षयता चङगाको व्यापार गर्दै आएको बताए।

नेपाली उत्पादनलाइ जोड दिएका प्रकाशको पसलमा चंगाबाहेक माटोबाट बनेका भाडा, हातले बनाएको कुचोलगायत राखेका छन। यससँगै पाँच वर्षअघिदेखि उनले दसैं तिहार लक्षित गरेर चंगाको व्यापार सुरु गरेको बताए। ग्वार्कोमा टाइसन काइट सप चलाइरहेका प्रकाश हिजोआज नेपालीको चंगा प्रतिको मोह घटेको देखेर निराश छन्। ‘पहिले दशैको एक महिना अघिदेखि नै काठमाडौं, ललितपुर र भक्तपुरको आकाश पुरै ढाकिने गर्दथ्यो,’ उनी भन्छन्, ‘अहिले दशैको दिन पनि गन्तीमा उड्ने गर्छ। चंगा भनेको न बच्चा न बुढो सबैले उडाउन मिल्ने खेल हो। हामीले उडाउदा चंगा कसको काट्ने भनेर खेल्थ्यौ तर अहिले सबैजना मोबाइल इन्टरनेटमा व्यस्त छन्।’

उनका अनुसार भदौको पहिलो हप्तादेखि स्टेसनरी उपहार पसलहरुले फाट्टफुट्ट लिन आउने गर्छन्। तर अहिले व्यापार पहिलेका वर्षजस्तो नभएको व्यापारीहरू बताउँछन्। मुख्यता नेपाली बजारमा चंगा १० रुपैयाँ देखि एक हजारसम्म पर्छ। त्यस्तै लट्टाई ४० रुपैयाँदेखि तीन हजारसम्म पर्छ। नेपाली बजारमा चंगा पुर्ण रुपमा भारतबाट आउने गर्छ। काठमाडौं जिल्लामा मात्र एक सिजनमा २५ देखि ३० करोडको चंगा र चंगाको सामग्रीहरु भारतबाट आयात हुने गर्छ। चंगा उडाउन त्यही अनुसारको मौसम अनुकुल हुनपर्छ। घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र चंगा उडाउन सकिन्छ। नेपालमा मुख्य गरी दशैको समयमा घरको कौसीमा बसेर उडाइने गरिन्छ। काठमाडौं टेकुुका सुमन मानन्धर दशैको समयमा कौशीमा बसेर साथीभाइसँग चंगा चेट गर्दै आएका थिए।

तर पछिल्लो वर्षयता उनको चंगा घरमा थन्किएर बसेको छ। ‘पहिला घरमा बसेर कौसीबाट अरुको चंगा काट्न मज्जा आउथ्यो,’ उनले भने, ‘तर अहिले चंगा कता उडाएको छ भनेर खोज्न हिँड्नुपर्ने भएको छ।’ पछिल्लो समयमा धेरै साथी इन्टरनेटमा मज्जा लिने भएकाले पनि चंगा खेल्न आउनै छाडिसकेको उनले बताए। अबको केही वर्षमा चंगा उडाएको देख्न नपाइने हो कि भन्नेमा उनी चिन्तित छन्। पछिल्ला वर्षमा केही बाल क्लब, संस्थाहरुले दसैंनजिकिदै गर्दा चंगा चेट कार्यक्रम राखेर संरक्षणमा लागेको पाइन्छ। काठमाडौं उपत्यकामा विशेष गरी अग्ला स्थान र खुल्ला ठाउँहरुमा चंगा उडाउन जाने गर्छन्। कीर्तिपुरको चोभार, ललितपुरको लाकुरीभन्जयाङ, भक्तपुरको नगरकोट लगायत स्थानमा चंगा उडाउन जाने गरिन्छ।
















![किरातहरूको पुजा घरमा उँधौलीको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1764834780.jpg)
![फ्लडलाइटमा क्रिकेटको मज्जा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1763383632.jpg)
![मोन्था प्रभावले निथ्रुक काठमाडौं [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1761809803.jpg)