Kathmandu Press

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण

खोटाङ, असोज १९ : काठमाडौँबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन्।

सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टर खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। 

Hardik ivf

खराब मौसमका कारण बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म सात हेलिकोप्टरले आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिए। मौसममा सुधार आएपछि सबै हेलिकोप्टर गन्तव्यतर्फ लागेका छन्। 

पर्यटक बोकेका हेलिकोप्टर लुक्लामा अवतरण हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा अवतरण गरेको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले बताए। २०७६ सालदेखि उडान बन्द रहेको लामीडाँडा विमानस्थल पछिल्लो समय  हेलिकोप्टरको आकस्मिक अवतरणका लागि प्रयोग हुँदै आएको छ।

लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि सञ्चालनमा आउन सकेको छैन। जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले २०२६ सालमा विमानस्थल निर्माण गरिएको थियो। त्यसको दुई वर्षपछि २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको विमानस्थलमा हाल कालोपत्रे भए पनि सञ्चालनमा आउन सकेको छैन।

प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्