राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिबारे दलहरुको साझा धारणा आवश्यक : सभापति रावल
बुधबार बसेको बैठकमा उनले सरकारले गरेको काम निष्कर्षमा पुर्याउन नसकेको अवस्था विद्यमान रहेको बताइन्।
काठमाडौं, असाेज १७ : राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावलले राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिबारे दलहरुबीच साझा धारणा बन्नु पर्ने बताएकी छन्।
बुधबार बसेको बैठकमा उनले सरकारले गरेको काम निष्कर्षमा पुर्याउन नसकेको अवस्था विद्यमान रहेको बताइन्। रावलले भनिन्, ‘राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिका बारेमा दलहरुबीच साझा धारणा बन्नु पर्छ। नेपाल–भारत सीमा समस्याको रुपमा छ। सरकारले धेरै समय अघि बनाएको इपीजी रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन। सरकारले काम गरेको तर निष्कर्षमा पुर्याउन नसकेको अवस्था छ। यसको अन्त्य गर्नु पर्छ।’
उनले धेरै विषयमा राष्ट्रिय सहमति बन्नु पर्ने बताइन्। उनले इपीजीको विषयमा छुट्टै बैठक बसेर छलफल गर्ने कार्ययोजना समेत भएको जानकारी दिइन्। मुख्य राजनीतिक दलहरु तथा परराष्ट्र मन्त्रालयसँग बसेर छलफल गर्ने र आवश्यक निर्देशन दिने कामहरु गर्ने उनको भनाइ छ।












