Kathmandu Press

नेपथ्यसँग झुम्याे क्यालगरी

क्यालगरीको कन्सर्ट सम्पन्न भएपछि अब ब्याण्डले ४ तारिख अर्थात् बुधबार भ्यानकुभर सहरको ‘दी भोग थिएटर’मा आफुलाई उभ्याउँदैछ। त्यसपछि अन्तिम शो ८ तारिख आइतबारका दिन मुलुककै पूर्ववर्ती ब्यापारिक सहर टोरन्टोस्थित क्यानाडाकै बिख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ।
नेपथ्यसँग झुम्याे क्यालगरी

काडमाडाैं, असोज १७ : नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानडामा सांगीतिक यात्रा सुरु गरेको छ। नेपथ्यले क्यानडाको पहिलो कन्सर्ट क्यालगरीको प्यालेस थिएटरमा सम्पन्न भएको छ। सो कन्सटएमा अल्बर्टा राज्यका विभिन्न सहरबाट जम्मा भएका दर्शकको बाक्लो उपस्थिति थियो ।

सन् २०२२ मा ‘जीवन्त सहर’ (ग्लोबल लिभेबिलिटी) का लागि विश्वभरमै तेश्रो अनि उत्तरी अमेरिकाकै पहिलो बनेको क्यालगरीमा अघिल्लो दिनबाटै नेपथ्य माहोल अनुभूत गर्न सकिन्थ्यो। स्थानीय टेलिभिजन सिबिसी लगायतका सञ्चारमाध्यमहरुमा नेपाली गीत, नेपाली गायक र नेपाली प्रस्तोताका अभिव्यक्तिहरु देखापर्न थालेका थिए।  

आइतबार बेलुकी शो सुरु हुनुभन्दा अगाडि त्यसैको निरन्तरतामा हल वरपर लामवद्ध दर्शक देखिए। ती दर्शकहरु क्यालगरी मात्र नभइ अल्बर्टा राज्यकै एडमण्टन, लेथब्रिज, मेडिसिन ह्याट, ओकोटोक्स, क्यानमोर र ग्रेटनभ्याली लगायतका सहर र बस्तीदेखि नेपथ्यलाई अनुभव गर्न जम्मा भएको यहाँस्थित नेपाली समाजका सक्रिय अग्रज ध्रुव राइ बताइरहेका थिए।

Hardik ivf

01 Nepathya performing to packed house at the Palace Theatre in Calgary. Photo-Dipit Raz-nepalaya1696406523.jpg

निर्धारित समयअनुसार बेलुकीको ठीक सातबजे प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेट स्वरुप ‘सा कर्णाली’ म्यूजिक भिडियो गुञ्जिन सुरुभयो। दर्शकहरुबाट चर्को स्वागतकै बीच मञ्चमा नेपथ्य टोली देखापरेपछि भने त्यस साँझको पहिलो प्रस्तुती ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो। एक दसकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले संखुवासभाको चैनपुरका डिल्ले दमाइबाट यो गीत संकलन गरेका थिए । त्यसपछि कार्यक्रमलाई नेपथ्यकै चर्चित गीतहरु क्रमशः ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘खान्न म त लामपाते सुरती’ले निरन्तरता दिएको थियो।

कन्सर्ट हेर्न आएका दर्शकहरुको भीँडमा परिचित गायिका मीना निरौला पनि थिइन्। छोटो समयमै नेपाली सिनेमा जगतलाई ‘ठमेल बजार’ र ‘काले दाइ’जस्ता गीतहरु दिएकी मीना पछिल्लो समय क्यानाडामै बसोबास गर्दैआएकी छिन्।

‘मलाइ त तीज दशैंजस्ता चाडबाडका बेला माइती नै आएको जस्तो लागिरहेको छ,’ भासिएको स्वरमा मीना भनिरहेकी थिइन्, ‘मञ्चमा बसेर गाउने बानी त छँदै थियो, आज चाहिँ दर्शक दीर्घामा बसेर चिच्याउँदा चिच्याउँदै स्वर नै गयो ।’ गायक अमृतले त्यसपछि पनि ‘चरि म¥यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरुले ल्याएको ‘नैनाताल’जस्ता गीतहरु सुनाउँदै गए।

03 Nepathya forntman Amrit Gurung performing at the Palace Theatre in Calgary. Photo-Dipit Raz-nepalaya1696406523.jpg

‘तपाइहरुले विदेशमा कमाएको सीप, पैसा अनि तपाइहरुको मेहनतबाट मातृभूमि नेपाल पनि लाभान्वित हुनुपर्छ,’ सदा झैँ गीतको बीचमा सन्देश समेत दिँदै गायक अमृतले भनेका थिए, ‘नेपालमा सडक आश्रितहरुको आवाजलाइ साथ दिने र समाजमा मानवता प्रवर्दनको अभिप्रायले गएको वर्षदेखि नेपथ्यले 'मानवताको लागि संगीत' अभियानलाई अघि बढाउँदै आइरहेको छ।’

उनले क्यानाडाको यो श्रृंखलावद्ध भ्रमण पनि सो उदेश्यमा समर्पित समभाव बोकेको मानवसेवा आश्रमको कामप्रति समर्पित रहेको जानकारी दिए।

नेपथ्यको कन्सर्ट हेर्नका निम्ति अल्बर्टा राज्यभन्दा परदेखि जम्माभएका दर्शकमा दुइ हजार किलोमिटर लामो यात्रा गरेर उत्तर पश्चिमी राज्यको सहर येलो नाइफदेखि आइपुगेका मानिक दुगड पनि थिए।

‘क्यालगरीको हलमा नेपाली गीत गुञ्जिरहँदा उभिने ठाउँ पनि नभेटिनेगरि टनाटन दर्शक देखेर म त दङ्ग परेँ,’ ३७ बर्ष देखि क्यानाडामा बसोबास गर्दैआएका मानिक भनिरहेका थिए, ‘नेपालीपन भरिएका प्रत्येक गीत कण्ठस्थै भएजसरी गाउँदै रमाएका विभिन्न उमेरका दर्शक देख्दा असाध्यै रमाइलो महशुस गर्न पाएँ ।’ कन्सर्ट हेरेपछि यसका लागि आफुले गरेको लामो यात्रा सार्थक भएको अनुभूति पनि मानिकले सुनाए।

05 Nepathya members on stage at the Palace Theatre in Calgary. Photo-Dipit Raz-Nepalaya1696406521.jpg

अर्कोतिर कन्सर्ट हेर्न एडमन्टनदेखि तीनघन्टा सवारी हाँकेर आएका वातावरण योजनाविद अच्यूत अधिकारी पनि थिए । अच्यूतले अलबर्टा राज्यकै उक्त सहरबाट आफुजस्तै यात्रा गरेर करिब दुइ सयजना क्यालगरी आइपुगेको उनको अड्कल थियो । ‘कन्सर्ट अवधिभर नेपथ्यको गीतमार्फत् वाल्यकालको यात्रा फेरि गरेको जस्तो अनुभव भइरह्यो,’ अच्यूत भन्दै थिए, ‘दुइ घन्टा बितेको पत्तै भएन।’ यो क्षणको अनुभवकालागि आफूहरुले लामो प्रतीक्षा गरेको जानकारी पनि उनले दिए।

दर्शकदीर्घामै क्यानाडामा पुनर्स्थापित झापाको बेलडाँगी शिबिरमा जन्मे हुर्केका भुटानी शरणार्थी विकास रसाइली पनि उपस्थित थिए । नेपाल रहँदैको प्रिय ब्याण्ड नेपथ्य अनुभव गर्ने हिसाबले मात्र नभइ क्यानाडामै रहेको नेपाली भाषी समुदायसँग पनि नजिकिन यो अवसर सहयोगी हुनपुगेको प्रतिक्रिया विकासले दिए।

कन्सर्टको अन्त्यतिर भने सदाझैँ सर्वकालीक हिट ‘रेशम’, ‘तालको पानी’ र अन्त्यमा राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाइएको थियो।

06 Audience from Alberta province of Canada react to Nepathya Concert in Calgary. Photo-Dipit Raz-Nepalaya1696406522.jpg

‘नेपथ्यलाई यसरी क्यालगरीमा उभ्याउन पाएकोमा असाध्यै भाग्यमानी महशुस गरिरहेका छौं,’ स्थानीय आयोजक टोलीका जगदीश कँडेलको प्रतिक्रिया थियो, ‘यहाँको नेपाली समुदायबाट नेपथ्यले पाएको माया र सद्भावबाट हामीपनि उत्साहित छौँ।’
       
कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

04 Nepathya frontman Amrit Gurung performing in Calgary. Photo-Dipit Raz-nepalaya1696406521.jpg

क्यालगरीको कन्सर्ट सम्पन्न भएपछि अब ब्याण्डले ४ तारिख अर्थात् बुधबार भ्यानकुभर सहरको ‘दी भोग थिएटर’मा आफुलाई उभ्याउँदैछ। त्यसपछि अन्तिम शो ८ तारिख आइतबारका दिन मुलुककै पूर्ववर्ती ब्यापारिक सहर टोरन्टोस्थित क्यानाडाकै बिख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ।

यी कन्सर्टहरुमा क्यानाडामा रहेका विद्यार्थीहरुको निम्ति विशेष छुटको ब्यवस्था गरिएको छ। अनलाइनबाटै टिकट लिन चाहनेका लागि नेपथ्यले आफ्नो वेबसाइट nepathya.com.np बाटै पनि उपलब्ध गराउने बन्दोबस्त मिलाएको छ।

02 Nepathya performing in Calgary. Photo-Dipit Raz-nepalaya1696406524.jpg

प्रकाशित मिति: १३:३७ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्