Kathmandu Press

मन्थली विमानस्थल खचाखच, होटेल र रेस्टुराँ सुनसान

उडान तालिका लिएर एजेन्सीहरूले काठमाडौँ, धुलिखेल, सिन्धुलीको मूलकोट लगायतका स्थानमा ल्याएर पर्यटकसोझै मन्थली विमानस्थल पुर्याएर सोलु उडाउने गर्छन्। त्यसले मन्थली बजार सुनसान छ।
मन्थली विमानस्थल खचाखच, होटेल र रेस्टुराँ सुनसान

रामेछाप, असोज १६ : मन्थली विमानस्थलमा बिहानैदेखि विदेशी पर्यटकहरूको भिडभाड हुन्छ।
 
बिहान ६ बजेदेखि जहाजहरू उड्छन्। दिउँसो सोलुखुम्बुको मौसम खराब हुने भएकाले बिहान सबेरैदेखि मध्य दिनसम्म जहाज उड्छन्। विमानस्थल खचाखच हुन्छ।

रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमानस्थलमा अहिले पर्यटकीय उडान भइरहेको छ। शरद ऋतुको उडानअन्तर्गत असोज पहिलो सातादेखि मङ्सिर १५ सम्म मन्थलीबाट लुक्ला उडान हुने गरेको छ । यो सिजनमा दैनिक ३ सयदेखि ४ सयसम्म सगरमाथा क्षेत्र घुम्न जाने विदेशी पर्यटक मन्थलीबाट सोलुखुम्बु आउजाउ गर्छन्।

Hardik ivf

नागरिक उड्डयन प्राधिकरणले शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिर १५ गतेसम्म र वसन्तऋतुको चैतदेखि जेठसम्म सोलुखुम्बु जाने पर्यटकहरूको भीड हुने भएकाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जाम कम गर्न मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाको उडान गर्ने गरेको छ  यसले गर्दा मन्थली विमानस्थल व्यस्त हुन्छ। विमानस्थल क्षेत्र विदेशी पर्यटकले भरिन्छ।

Manthali Airpoart -21696313780.JPG

काठमाडौँबाट विभिन्न ट्राभल एजेन्सीले पर्यटकहरूलाई काठमाडौंबाट मन्थली विमानस्थल पुर्याएर सोलुखुम्बु उडाउने र सोलुखुम्बुबाट मन्थली विमानस्थल हुँदै काठमाडौँसम्म ल्याउने गर्दछन्। मन्थली विमानस्थलबाट सोलुखुम्बुका लागि सीता, तारा र समिट एयरले उडान भरिरहेका छन्।
 
मन्थली विमानस्थल क्षेत्र बिहानैदेखि विदेशी पर्यटकले खचाखच भरिए पनि सँगै जोडिएको मन्थली बजार भने सुनसान छ । बजारमा न पर्यटक देखिन्छन्, न होटेलहरू नै बुक भएका छन्।

पर्यटकहरू मन्थली ल्याउने ट्राभल एजेन्सीहरूले मन्थली बजारमा पर्यटकहरूलाई छिर्नै दिँदैनन्। उडान तालिका लिएर एजेन्सीहरूले काठमाडौँ, धुलिखेल, सिन्धुलीको मूलकोट लगायतका स्थानमा ल्याएर पर्यटकसोझै मन्थली विमानस्थल पुर्याएर सोलु उडाउने गर्छन्।

विमानस्थल सञ्चालनमा आएर दैनिक सयौँ पर्यटकहरू आउजाउ गर्दा पनि त्यसको लाभ मन्थलीका व्यवसायीले लिन पाएका छैनन्। रामेछाप होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष शेखरमान श्रेष्ठ मन्थलीमा दैनिक एक हजार जनासम्म पर्यटकलाई व्यवस्थित बसोबास र खानाको सेवा दिन सकिने बताउँछन्। तर ट्राभल एजेन्सीहरूले मन्थलीमा बस्ने र खाने ठाउँ नै छैन भनेर प्रचार गर्ने गरेको उनको भनाइ छ।

यही कारणले गर्दा बिहान जहाज चढ्नु पर्ने पर्यटकहरू निन्द्रा माया मारेर रातारात काठमाडौं र धुलिखेलबाट हिँड्नु परेको छ। पर्यटकहरुको बसाइ हुन नपाएपछि मन्थलीका व्यवसायीको भने व्यापार शून्यप्रायः बनेको छ।

प्रकाशित मिति: ११:५८ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्