Kathmandu Press

१० हजार किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

भदौ ३० गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्ने भनिए पनि लगातार सार्वजनिक बिदा परेपछि असोज १० गतेसम्म अभियान सञ्चालन गरिएको थियो।
१० हजार किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

काठमाडौं, असोज १५ : पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप नौ हजार नौ सय ९९ किशोरीले लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप लगाएका हुन्।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले लक्ष्यअनुसार किशोरीहरुले एचपिभी खोप लगाएको जनाए।

Hardik ivf

अभियानको सुरुमा विभिन्न अवरोधका कारण खोप लगाउन नपाएपछि समय थप गरी लक्ष्यअनुसार सबै किशोरीले खोप लगाएको उनले बताए। भदौ ३० गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्ने भनिए पनि लगातार सार्वजनिक बिदा परेपछि असोज १० गतेसम्म अभियान सञ्चालन गरिएको थियो।

सरकारले भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप अभियान सञ्चालन गरेको थियो। साथै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट पनि खोप अभियान सञ्चालन गरिएको थियो।

अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप लगाइएको हो। खोपको दोस्रो मात्रा आगामी माघमा सञ्चालन गरिने शाखा प्रमुख डा. गौतमले जानकारी दिए।

सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार डोज खोप खरिद गरेको थियो। एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ।

यसअघि सरकारले सन् २०१६र१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो।

प्रकाशित मिति: २०:०२ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्