जोसमनी दर्शनको महत्ताबारे विद्वानबीच मन्थन

पोखरा, असोज १६ : सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखरामा शनिबार जोसमनी दर्शनका सैद्धान्तिक र व्यावहारिक पक्षमा विमर्श भएको छ। संस्थाका निवर्तमान सचिव डा. टीकाराम आचार्य ‘आरुणी’ ले ‘जोसमनी एक व्यावहारिक दर्शन’ शीर्षकको अनुसन्धान पत्र प्रस्तुत गर्दै यसका सैद्धान्तिक र व्यावहारिक मान्यतालाई स्पष्ट पारे।
१९औँ शताब्दीको पूर्वार्धदेखि सन्त शशीधरबाट आरम्भ भएको जोसमनी दर्शनलाई ज्ञान दिलदासलगायतले भजन र कविताका माध्यमबाट विकसित गरेको उनको अध्ययनको निष्कर्ष छ। यस दर्शनले कर्मकाण्ड पद्धतिमा अविश्वास गर्ने, मानवतावादलाई महत्व दिने, आडम्बरी प्रवृत्तिको खण्डन गर्ने, आत्मसन्धानमा रुचि राख्ने तथा हठयोगमा विश्वास गर्ने र आस्तिक निर्गुण भक्तिधारालाई प्रश्रय दिने हुँदा जोसमनी दर्शनले समाज सुधारमा सहयोग मिल्ने अध्येताको तर्क छ।
आचार्यले आत्मा र परमात्मालाई एकाकार पार्ने उपायका रूपमा अष्टाङ्ग योगविधिलाई अवलम्बन गरी कुण्डलिनीबाट सहश्र दल कमलसम्म पुगेपछि ज्ञान प्राप्त हुने बताउँछन्। यो कार्य गुरुको निर्देशन र शिष्यको समर्पणबाट सम्भव हुने उनको ठहर छ। कर्मयोगबाट नै ज्ञानयोगतर्फ जान सकिने, धर्मलाई देखावटीबाट व्यवहारतर्फ लान सकिने तथा शास्त्रका मान्यतालाई परिष्कार गर्दै कर्मकाण्ड पद्धतिमा सुधार ल्याई समाजमा समानता, न्याय र सुशासन कायम गर्न जोसमनी मत महत्वपूर्ण रहेको आचार्यको स्पष्टोक्ति छ।
कार्यक्रममा टिप्पणीकार डा.भोलानारायण रेग्मीले अहिले धर्मसंस्कृतिमाथि प्रहार भइरहेको बेला जोसमनी मत सार्थक रहेको बताए। डा.रेग्मीले जोसमनी सन्त ज्ञानविन्दासले दार्जलिङमा टर्नबुललाई शास्त्रार्थमा हराएर बाइबल पोल्न बाध्य पारेको प्रसङ्ग जोड्दै ॐकार रूपी ब्रह्मको प्राप्तिपछि मोक्ष प्राप्त हुने हुँदा शरीर शुद्धिबाट चित्तशुद्धि र चित्तशुद्धिबाट समाज परिवर्तन गर्न सकिने धारणा राखे।
कार्यक्रममा प्रा.डा.शालिग्राम सुवेदी, प्रा.डा. जगन्नाथ रेग्मी, डा. भूमिराज बस्ताकोटी, सुलोचना खनाल, सुरज पौडेल, बसन्त पराजुली, हिममाया पौडेललगायतले प्रकृति, आत्मा र परमात्माको सम्बन्धमा जोड दिए। उनीहरूले जोसमनी दर्शनको आधार पौराणिक ग्रन्थ वेद र भागवतमा रहेको उल्लेख गर्दै लेखलाई थप प्राज्ञिक बनाउन सुझाव दिए। स्याङ्जा साहित्य प्रतिष्ठानका कार्यवाहक अध्यक्ष टीकाराम वाग्लेले कविता वाचनसहित शुभकामना दिए। सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा.भानुभक्त आचार्यले गरेका थिए।












