गौलीलाई मनराम–एसकाज पत्रकारिता पुरस्कार
२०५० देखि एक दशकभन्दा बढी समय संखुवासभामा राष्ट्रिय समाचार समितिको प्रतिनिधि भएर पत्रकारिता गरेका गौलीलाई पत्रकारिताको माध्यमबाट जिल्लालाई चिनाउन पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको संखुवासभा काठमाडौं जर्नालिष्ट एसोसिएसन (एसकाज) ले जनाएको छ ।
काठमाडौं, असोज १२ : मनराम–एसकाज पत्रकारिता पुरस्कार २०८० संखुवासभाका पुराना पत्रकार भोलानाथ गौलीलाई प्रदान गरिएको छ ।
२०५० देखि एक दशकभन्दा बढी समय संखुवासभामा राष्ट्रिय समाचार समितिको प्रतिनिधि भएर पत्रकारिता गरेका गौलीलाई पत्रकारिताको माध्यमबाट जिल्लालाई चिनाउन पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको संखुवासभा काठमाडौं जर्नालिष्ट एसोसिएसन (एसकाज) ले जनाएको छ ।
आज काठमाडौँमा आयोजित कार्यक्रममा गौलीलाई नगद ५० हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरिएको छ । कार्यक्रममा ८६ वर्षीय गौलीले ३१ वर्ष सरकारी सेवामा बिताएर अवकाश लिएपछि पत्रकारिता सुरु गरेको स्मरण गर्दै भने, ‘जीवनमा मैले पत्रकारितामा संलग्न भएर धेरै कुरा सिक्ने मौका पाएँ ।’
प्रमुख अतिथि पूर्वराज्यमन्त्री एवं संघीय सांसद दीपक खड्काले समृद्ध संखुवासभाका लागि सबै संखुवासभाली एकजुट हुनुपर्ने भन्दै त्यसमा पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मनराम प्रतिष्ठानका अध्यक्ष सुजनकुमार श्रेष्ठले एसकाजसँगको आठ वर्षदेखिको सहकार्य अझ बलियो बन्दै गएको भन्दै एसकाजसँगको सहकार्यले समृद्ध संखुवासभा निर्माणमा प्रतिष्ठान पनि जोडिन पाउँदा खुशी लागेको बताए । अग्रज समाजसेवी स्व. रामबहादुर श्रेष्ठ र मनमाया श्रेष्ठको नाममा मनराम प्रतिष्ठानद्वारा स्थापित पुरस्कारबाट अहिलेसम्म आठ जना पुरस्कृत भइसकेका छन् ।
संखुवासभामा रहेर सक्रिय पत्रकारिता गर्नेलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । कार्यक्रम एसकाजका अध्यक्ष शंकर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।