उदयपुरमा प्रतिबन्धित औषधि बेच्ने व्यवसायी पक्राउ
चौदण्डीगढी नगरपालिका नगर स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार ट्रामाडोल डाक्टरको पुर्जा बिना बेचबिखनमा प्रतिबन्धित औषधि हो।
उदयपुर, असाेज १० : उदयपुर प्रहरीले प्रतिबन्धित औषधिसहित एकजना औषधी व्यवसायीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका ७ बेल्टारका गोपी कृष्ण मेडिकल हलका संचालक वीरेन्द्र झालाइ प्रतिबन्धित औषधि ट्रामाडोल सहित प्रकाउ गरेको हो।
चौदण्डीगढी नगरपालिका नगर स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार ट्रामाडोल डाक्टरको पुर्जा बिना बेचबिखनमा प्रतिबन्धित औषधि हो। ट्रामाडोल बेचबिखनको लागि हरेक औषधी पसलले लगबुक राखेर मात्र बेच्नुपर्ने प्रावधान रहेको समेत स्वास्थ्य शाखाले जनाएको छ।
गत असोज २ गते नगर स्वास्थ्य शाखाका कर्मचारी सहित प्रहरीको टोलिले झाको मेडिकल हलमा छापा मारेको थियो। झाले संचालन गर्दै आएको गोपी कृष्ण मेडिकल हलमा छापा मार्ने क्रममा प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार २० ट्याबलेट, स्पासेन २ हजार एक सय ६० ट्याबलेट र ओपिडोल २ हजार एक सय ट्याबलेट सहित प्रहरीले प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए।
गोपी कृष्ण मेडिकल हलका सञ्चालक बिरेन्द्र झा अबैध औषधिसहित पक्राउ परेसँगै स्थानीय स्तरमा अबैध औषधिको व्यापार गरेर समाज बिगारेको र आफ्ना छोराछोरी अहिले सुधार केन्द्रमा राख्नुपर्ने अवस्थामा पुगेको भन्दै झालाई हदैसम्मको कारवाहीको माग स्थानीयहरुले राख्दै आएका छन्। उनीहरुले झालाई कारवाहीको माग सहित प्रशासन समक्ष ज्ञापनपत्र समेत बुझाएका थिए।
अबैध औषधी बेचबिखनको नियमनकारी निकाय औषधी ब्यबस्थाबिभाग भएकोले प्रहरीले उनलाई आवश्यक कारबाहीको लागि बरामदी औषधी सहित औषधी ब्यवस्था विभाग विराटनगर पठाएको छ।












