शहरी विकासको सहमतिबिनै सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारीको सरुवा
यसले मन्त्रालयको कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएकाले मन्त्रालयअन्तर्गतका प्राविधिक कर्मचारीको सरुवा गर्दा मन्त्रालयसँग समन्वय गरेर मात्र गरिदिन सहरी मन्त्रालयले सामान्य मन्त्रालयलाई अनुरोध पठाउने भएको छ।
काठमाडौं, असोज ९ : सहरी विकास मन्त्रालयको सहमति नै नलिइ मन्त्रालयका विभाग/कार्यालय/आयोजनामा कार्यरत प्राविधिक कर्मचारीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि समस्या उत्पन्न भएको छ।
यसले गर्दा सहरी मन्त्रालयको कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएकाले मन्त्रालयअन्तर्गतका प्राविधिक कर्मचारीको सरुवा गर्दा मन्त्रालयसँग समन्वय गरेर मात्र गरिदिन सहरी मन्त्रालयले सामान्य मन्त्रालयलाई अनुरोध पठाउने भएको छ।
सहरी मन्त्रालयको मंगलबार सम्पन्न समीक्षा बैठकले सो सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पठाउने र सोको जानकारी प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयलाई दिने निर्णय गरेको हो।
यसैगरी बैठकले मन्त्रालयको आर्थिक वर्ष ०८०र८१ को वित्तीय र भौतिक प्रगति वृद्धि गर्न महाशाखा, विभाग, आयोजना र मातहतका सबै निकायले प्रत्येक महिनाको पहिलो हप्तामा आन्तरिक बैठक बसी समस्याको पहिचान र तत्काल समाधान गर्नुपर्ने काम पहिचान गरी सोको जानकारी मन्त्रालयलाई दिने निर्णय गरेको छ।
बैठकले प्रत्येक महिनाको तेस्रो हप्ता मन्त्रालयमा विभागीय प्रमुख–आयोजना प्रमुखरकार्यालय प्रमुखको समीक्षा बैठक बसी आयोजनाको समस्या समाधान गर्न समन्वय र सहजीकरण गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयअन्तर्गतका सबै केन्द्रीय निकाय र आयोजनाको तल्लो एकाइरनिकायमा कार्य प्रगति वृद्धि गर्न अनिवार्यरूपमा दोस्रो र तेस्रो चौमासिकमा मन्त्रालयरविभागले स्थलगत अनुगमन, मूल्यांकन गरी संस्थागत अभिलेखीकरण गर्ने बैठकको निर्णय छ।












