नरेन्द्र मोदीले बाँडे ५१ हजार नियुक्तिपत्र
काठमाडौं, असाेज ९ : प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सरकारी विभागमा ५१ हजारभन्दा बढीलाई नियुक्ति दिएका छन्। ती कर्मचारीलाई नियुक्तिपत्र बाँडेलगतै उनले रोजगार मेलालाई सम्बोधन गर्दै सुशासन र प्रविधिलाई प्रयोग गर्ने बताए।
प्रधानमन्त्री मोदीले नवनियुक्त कर्मचारीहरूलाई सरकारी योजनामा प्रविधिको प्रयोगले भ्रष्टाचार र जटिलतालाई न्यूनीकरण गरी विश्वसनीयता र सहजता बढ्ने विश्वास व्यक्त गरे।
देशका ४६ स्थानमा रोजगार मेला आयोजना गरिएको छ। यसमा हुलाक, आणविक ऊर्जा, राजस्व, उच्च शिक्षा र रक्षा विभागलगायत विभिन्न मन्त्रालय र विभागहरूबाट चयन गरिएका छन्।
उनले नयाँ भारतको सपना ठूलो रहेको र अन्तरिक्षदेखि खेलकुदसम्म केटीहरूको उपस्थिति बढिरहेको बताए। अहिले उनीहरूलाई सशस्त्र बलमा भर्ती गर्ने तयारी भइरहेको उनले सुनाए।
प्रधानमन्त्री मोदाीले नवनियुक्त कर्मचारीहरूलाई ‘नागरिक–पहिले’को भावनामा काम गर्न सुझाव दिए। उनले सुशासन सुधारका लागि प्रविधिको अधिकतम उपयोग गर्न युवाहरूलाई आग्रह गरे।
प्रधानमन्त्री मोदीले हालै संसद्बाट पारित भएको महिला आरक्षण विधेयकले देशको ५० प्रतिशत जनतालाई ठूलो हौसला मिलेको दाबी गरे।