Kathmandu Press

एसियाडमा जुडोमा नेपालको यात्रा समाप्त

जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए।
एसियाडमा जुडोमा नेपालको यात्रा समाप्त

काठमाडौं, असोज ९ : एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार समाप्त भएको छ। दुईजना खेलाडीको पराजयसँगै जुडोमा नेपालको यात्रा टुंगिएको हो। 

जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए। उनलाई प्रिक्वाटरफाइनलमा काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए।

महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा हारिन्। प्रिक्वाटरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिकिन्।

जुडोमा नेपालबाट समान ४–४ पुरुष, महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यसअघि पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए।

महिलामा मनीता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो। सहभागी मध्ये विकासले मात्र एक ‘बाउट’ जिते।

उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए।

 

प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्