उच्च रक्तचाप नियन्त्रण अभियानबारे जनप्रतिनिधिसँग छलफल
नेपालमा नै पहिलो पटक जिल्लामा सुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’अन्तर्गत नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्ष लगायत जनप्रतिनिधीसंग छलफल गरिएको हो।काभ्रे, असोज ८ : उच्च रक्तचाप रोगीको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले थालिएको अभियानबारे नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधिसँग छलफल गरिएको छ।
नेपालमा नै पहिलो पटक जिल्लामा सुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’अन्तर्गत नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्ष लगायत जनप्रतिनिधीसंग छलफल गरिएको हो।
कार्यक्रममा नगरप्रमुख कुनसाङ लामाले मानिसको औषत आयू बृद्धि गर्नको लागि स्वास्थ्यसंग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले उच्च रक्तचाप हुनेको पहिचान र जोखिम नियन्त्रणका लागि यो अभियान सफल हुने विश्वास व्यक्त गरे भने वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले अभियानको दायरा फराकिलो बनाउनुपर्ने बताए।
काठमाडौं विश्वविद्यालयका तर्फबाट अनुसन्धानकर्ता विहङगम विष्ट, नमोबुद्ध नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ अधिकृत नानीमैया विष्टलगायतले सरोकारवाला सबैको साथ र सहयोगबाट नमोबुद्धमा उच्च रक्तचाप र यसको जोखिम नियन्त्रण गर्न सकिने बताए।
यसअघि नमोबुद्ध नगरपालिकाले १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निःशुल्क गरेको थियो। नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह, अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक वर्षसम्म निस्शुल्क औषधीको व्यवस्था मिलाएको थियो। ४ हजार ६ सय ६१ जनाको परिक्षण गर्दा ५ सय ९७ जनामा उच्च रक्तचाप देखिएको थियो।