खेलाडीहरूको हौसला बढाउने खालका कार्यक्रमका ल्याउँछौं : अध्यक्ष चन्द

काठमाडाैं, असाेज ६ : काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा खेलाडीहरूको हौसला बढाउने खालका कार्यक्रमका साथ नयाँ कार्यसमिति अगाडि बढ्ने विश्वास दिलाएका छन्।
आज नेपाली क्रिकेट टिमलाई शुभकामना तथा विदाई दिन आयोजित पत्रकार सम्मेलनमा उनले कार्यसमिति विगतको भन्दा उत्कृष्ट तरिकाले अगाडि बढ्ने भन्दै खेलाडीहरूका सुधारका लागि काम गर्ने बताए। उनले भने, ‘पहिलाभन्दा उत्कृष्ट रूपमा यो कार्यसमितिले सबै खेलाडीको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी, मनोबल कमजोर नहुने गरी हौसला बढाउने खालको कार्यक्रमका साथ अगाडि बढाउने विश्वास र प्रतिबद्धता जाहेर गर्न चहान्छु।’
उनले खेलको लागि शुभकामना दिदैँ उच्च मनोबलका साथ खेलेर मेडल जितेर आउनु आग्रह पनि गरेका छन्।
यस्तै, क्यानका सचिव पारश खड्काले आगामी दिनमा देशलाई जिताउनको लागि नयाँ सोच, विचार र रणनीतिका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले नेपाली क्रिकेटको नयाँ युगको सुरुआत गर्ने प्रयासमा रहेको भन्दै खेलाडीहरूलाई मेहेनतका साथ अगाडि बढ्न शुभकामना दिएका छन्।
उनले भने, ‘कुनै पनि खेल, प्रतियोगितालाई सहज तरिकाले नलिनु होला, यही खेलमार्फत हामीले सम्पूर्ण जनतालाई एउटै ठाँउमा ल्याउन ठूलो भूमिका खेलेको छ। त्यसैले सबैको जिम्मेवारी छ, आगामी दिनमा आफ्नाो देशलाई जिताउनका लागि नयाँ सोच, विचार र रणनीतिका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छु। यो प्रतियोगितामा मेडल ल्याउने लक्ष्य छ त्यसको लागि आफ्नो तर्फबाट तयारी गर्नुभएको होला।’
उक्त पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेलले हाम्रो उद्देश्य मेडल जित्नु भएको भन्दै त्यसको लागि निरन्तर प्रयास गरिरहेको बताए। उनले सबै जना खेलको लागि तयार रहेको र खेल राम्रो हुने आशा लिएको पनि बताए। उनले भने, ‘विगत १०/१५ दिनेदेखि खेलहरू खेल्ने गरेका छौं, तयारी एकदमै राम्रो भएको छ। हाम्रो उद्देश्य भनेको मेडल जित्नु नै हो त्यसको लागि हामीले हाम्रो प्रक्रियालाई निरन्तरता दिनुपर्छ। हामी सबै जना खेलको लागि तयार छौ र राम्रो खेल्ने छौ भन्ने आशा छ।’












