Kathmandu Press

देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना

देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना

काठमाडौं, असोज ४ : अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ चैत्य क्षेत्रमा दिगो शान्तिको कामना गर्दै धर्ना दिएको छ। 

विश्व शान्तिका लागि देशमा शान्ति कायम गर्ने वातावरण बनाउन धर्ना आयोजना गरिएको शाखाका अध्यक्ष भगवान् पुडासैनीले राससलाई जानकारी दिनुभयो। कार्यक्रममा मानव अधिकार तथा शान्ति अभियानमा लागेका पाँच दर्जनभन्दा बढी अभियानकर्मीको सहभागिता थियो। सहभागीले देशमा शान्ति कायम गराउनका लागि विभिन्न प्ले कार्ड बोकेर आह्वान गरेका थिए।

हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन भन्ने नाराका साथ गरिएको धर्नामा समाजका पूर्वसभापतिद्वय उत्तम पुडासैनी र होमकान्त चौँलागाइँ, काठमाडौँ महानगरपालिका वडा ६ का पूर्वअध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा ६ का पूर्वअध्यक्ष रमेश अर्याल र वडा ८ का पूर्वअध्यक्ष मनोजकुमार ढुङ्गानालगायत जनप्रतिनिधिको पनि सहभागिता थियो।

धर्ना समापन कार्यक्रमलाई सम्बोधन गर्दैै समाजका केन्द्रीय सदस्य रामकृष्ण बरालले सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पु¥याएर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि सेप्टेम्बर २१ का दिन यो दिवस मनाउन थालेको हो। अहिंसा र युद्धविराममार्फत् शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रुपमा विश्वभरी शान्ति दिवस मनाउने गरिएको छ।

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्