पहिलो पटक क्यानाडामा संगीत यात्रा गर्दै नेपथ्य
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ।
काठमाडौं, असोज ३ : नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ ।
नेपथ्यको क्यानडा यात्रा क्यालगरीबाट सुरु हुनेछ। अक्टोबरको १ मा क्यालगरी सहरको ‘दी प्यालेस थिएट’मा कार्यक्रम हुनेछ। त्यसपछि अक्टोबर ४ मा नेपथ्यको प्रस्तुति भ्यानकुभरको ‘दी भोग थिएटर’मा हुनेछ।
क्यालगरी र भ्यानकुभरपछि नेपथ्यले टोरन्टोमा सांगीतिक कार्यक्रम गर्नेछ। सो कार्यक्रममा अक्टोबर ८मा म्याक्सी हलमा हुनेछ। यो हल क्यानडाको नेशनल हिस्टोरिक साइटमा सूचीकृत छ।
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ।
केही समययता नेपालीहरुका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तब्य बन्दै आएको छ। त्यसमा पनि विशेषगरि अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीहरुको संख्या बर्षेनी बढ्दो छ।
‘केहि वर्षअघिसम्म पनि यहाँ नेपाली अनुहार मुश्किलले देखिन्थे,’ टोरन्टोका दिलिप पौडेल भन्छन्, ‘अहिले सार्वजनिक यातायात, कलेज, रेष्टुरेन्ट र बाटाघाटामा पनि नेपाली बोलिरहेका मानिस देखिनु सामान्यजस्तै बन्दैगएको छ।’
बढ्दो जनसंख्यासँगै यहाँका नेपाली संघसंस्थाहरुले आयोजना गर्ने विभिन्न खाले सांगीतिक कार्यक्रमहरुको संख्या पनि नियमित बन्दै गएको छ।
‘यहाँको नेपाली समुदायले म्यासी हल जस्तो सम्मानित कार्यक्रम स्थलमा नेपाली कलाकारलाई प्रस्तुत गर्न लागेको सम्भवत यो नै पहिलोपटक हो,’ अर्का क्यानाडावासी रविन थपलिया भन्छन्।
सन २०२३ भरि नेपथ्यका सबै प्रस्तुतीहरुलाई ‘मानवताका लागि संगीत’को नारासहित मानवता प्रवर्द्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार अनुरुप यसपालीको नेपथ्य क्यानाडा शृंखला पनि त्यही नारा अन्तर्गत अगाडी बढ्ने छ।
‘क्यानाडामा हुने प्राय नेपाली कार्यक्रमहरु अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ,’ व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपाली कलाकारहरुले क्यानाडाको मात्र यात्रा गरेको घटना विरलै हुने गरेकोमा यसपाली त्यो संभावनाको ढोका पनि उघार्ने अठोट लिएका छौं।’
नेपाली विद्यार्थीहरुको रोजाइमा पर्ने प्रमुख गन्तब्य मध्येको क्यानाडामा नेपाली जनसंख्या वृद्धि भएसँगै त्यतातिर हाम्रो कलाको बजार पनि विस्तार हुने संभावना देखिएको उनले बताए।
नेपालयले उचित व्यवस्थापन मार्फत नेपथ्यको प्रस्तुतीमा एकरुपता ल्याउनका लागि नेपालमा र विदेशमा नेपथ्यसँग अनुभव बटुलेका प्राबिधिकहरुलाई यात्रा टोलीमा सम्मिलित गर्दै आएको छ । सोही अनुरुप अघिल्लो महिनाको श्रृंखलावद्ध जापान यात्रामा सम्मिलित ८ जना प्राविधिज्ञ एवं व्यवस्थापक र ६ संगीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेस हुनेछन्।
‘हाम्रो लागि क्यानाडा नयाँ गन्तब्य भएता पनि त्यहाँ बसोबास गर्ने नेपालीहरुले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘दशैँको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौं।’ क्यानाडामा रहेका शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् दिइरहेको सन्देश आफुलाई प्राप्त भइरहेको अमृतले जानकारी दिए।
‘कतिपय प्रसंशकहरुले समुह बनाउँदै अर्कै सहरदेखिको लामो दुरी तय गरेर पायक पर्ने सहरमा कन्सर्ट हेर्न आउने जानकारी दिइरहनुभएको छ,’ अमृत भन्छन्, ‘यो मायाका लागि म र मेरो टिम आभारी छौं।’
क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।
क्यानाडाका तीनवटै सहरहरुमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको पाँच बजे प्रवेश खुला गरिनेछ भने ठीक सात बजे कन्सर्ट सुरु हुनेछ। आनलाइनबाट टिकटको बिक्रि व्यवस्थापन भइरहेको यात्राका सबै कन्सर्टहरुमा विद्यार्थी समुहको निम्ति विशेष छुटको व्यवस्था पनि गरिएको छ।
