Kathmandu Press

नेम्वाङको निधनले शोकमा गृहजिल्ला

नेम्वाङको निधनले शोकमा गृहजिल्ला

मंगललबारे, (इलाम), भदौ २८ : संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट गृहजिल्ला इलाम शोकमा डुबेको छ।

नेकपा एमालेका उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधिसभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित भएका थिए। इलामका मतदाताले नेम्वाङलाई संविधान निर्माण र इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्तिका रुपमा स्मरण गरेका छन्।

Hardik ivf

विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको अध्यक्ष भए उनी २०५६ सालको निर्वाचनपछि कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भए। कानुन व्यवसायी र प्राध्यापक समेत रहेका उनी २०२९ सालमा अनेरास्ववियुका अध्यक्षसमेत भए।

विसं २०३३ मा राजद्रोहीको मुद्दामा जेल परेका उनी २०६४ र २०७० मा संविधानसभा अध्यक्ष बने। विसं २००९ मा इलामको सुन्तलाबारमा जन्मिएका उनले राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकतामा जोड दिन्थे।

एमाले इलामका सचिव उमेश गुरुङले उनको मृत्युले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताए। उनकै अध्यक्षतामा नेपालमा संविधान जारी भएको भन्दै नेपाली जनताले नेम्वाङलाई सधै स्मरण गरिरहने उनको भनाइ छ। 

नेपाली कांग्रेस इलामका पूर्वजिल्ला सचिव राजेन्द्र शर्माले नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोरेको भनाइ व्यक्त गरे। माओवादी केन्द्र इलामका कार्यालय सचिव तथा प्रदेश परिषद् सदस्य प्रकाश परियारले नेम्वाङको निधनबाट देश र जनताले एक इमान्दार नेता गुमाएको बताए। 

किरात याक्थुम चुम्लुङका संस्थापकसमेत रहेका नेम्वाङले संविधान निर्माणमा महत्वपूर्ण योगदान रहेको भन्दै किरात याक्थुम चुम्लुङका सङ्घीय सचिव अभिषेक एक्तेनले नेपाली जनतालाई उहाँलाई सदैव स्मरण गर्ने बताए। 

नेम्वाङको निधनको शोकमा एमालेले पार्टीको झण्डा आधा झुकाएको छ। पार्टीले तीजलगायतका कार्यक्रम रद्द गरेको एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए।

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्