जापानिज इन्सेफ्लाइटिसबाट नवलपरासीमा एक जनाको मृत्यु
चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाईंले बताए।
नवलपरासी, भदौ १९ : नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो। बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो।
चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाईंले बताए। परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताए। उनका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो।
जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका एक जनाको चितवनस्थित अस्पतालमा उपचार भइरहेको उनले बताए । देवचुली नगरपालिकाकी १५ वर्षीय बालिकामा जापानिज इन्सेफ्लाइटिस देखिएको र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
यहाँका दुईवटा पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी पुष्टि भएपछि बिरामी भेटिएका स्थान वरपर अन्य केही व्यक्तिको रगत परीक्षणका लागि आज रगत संकलन गरिँदैछ। साथै उक्त स्थान वरपर स्वाथ्य कार्यालको सक्रियतामा सचेतनामूलक कार्यक्रम समेत गरिँदैछ।












