Kathmandu Press

बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण

‘विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ। यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ,’ उनले भने।
बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण

बैतडी, भदौ १९ : आपत्कालीन उद्धारका लागि बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण गरिएका छन्।

विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टबाट उद्धारका लागि सबै हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

‘विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ। यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ,’ उनले भने।

मनसुन आपत्कालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन्। सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन्।

यस्तै पञ्चेश्वर गाउँपालिका–३ कुलाउ, सिगास गाउँपालिका–९ चौखाम, सिगास–७ कै शिवलिङ्ग, पुर्चौडी नगरपालिका–१ हाट, पुर्चौडी–५ कुवाकोट, पुर्चौडी–३ नकाली, पाटन नगरपालिका–४ पाटन, डिलाशैनी गाउँपालिका–३ लेक, सुर्नया गाउँपालिका–२ सिउडे र दोगडाकेदार गाउँपालिका–१ रिममा गैरसैनिक हेलिप्याड निर्माण गरिएका हुन्।

मनसुनको प्रभाव बढ्दै गइरहेकाले बाढी, पहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपत्कालीनरूपमा हेलिकोप्टर अवतरण गराउन सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। विपद् व्यवस्थापन तथा न्यूनीकरणका गर्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए।

प्रकाशित मिति: १०:५९ बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्