साहित्य महोत्सवमा ‘मिथिला संस्कृति’ बारे चर्चा

काठमाडौं, भदौ १७ : गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा मिथिला संस्कृतिबारे छलफल भएको छ।
महोत्सवमा आयोजित ‘मिथिलाको कामधेनु संस्कृति’ विषयक सत्रमा नेत्री चित्रलेखा यादव, विश्लेषक सिके लाल, संस्कृति अभियन्ता रामनारायण देव, लेखक धीरेन्द्र प्रेमर्षी र रङ्गकर्मी रमेश रञ्जन झाले मैथिली संस्कृतिबारे थप प्रकाश पारे।
नेत्री यादवले मिथिलाको संस्कृति बचाउन महिलाको महत्त्वपूर्ण योगदान रहेको बताइन्। ‘महिला सबै शक्तिका स्रोत हुन् । त्यो मलाई हजुर आमाबाट अनुभूति भयो किनकी उहाँ साक्षर नभए पनि मलाई बाल्यकालमा संस्कृतिसँग जोड्नुभयो, बुझाउनुभयो,’ उनले भनिन्।
उनलेका अनुसार मैथिली संस्कृतिमा महिलालाई शक्तिको स्रोतको रुपमा लिए पनि समाजको पित्तृसत्तात्मक संरचनाले महिलालाई कमजोर बनाइएको बताइन्।
विश्लेषक सिके लालले पाँच सय वर्ष अगाडि कामधेनु संस्कृति मिथिलामा आएको जानकारी दिए। उनले भने, ‘मल्लकालमा मैथिलीमा लेख्ने र बोल्ने गरिन्थ्यो । त्योबेला मैथिली योग्य भाषा थियो। तर, अहिले यो अवस्था छैन।’ सीताको कालखण्डबाट मिथिलामा कृषि र पशुपालनले सभ्यताको विकास भएको उनको भनाइ थियो ।
यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा आज बेलुकी समापन हुँदैछ।












