Kathmandu Press

निकुञ्जमा मृत भेटियो गैंंडा 

निकुञ्जमा मृत भेटियो गैंंडा 

चितवन, भदौ १७ : चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत  भेटिएको छ। खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ। 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो। गस्ती टोलीले गैँडा भेटेको उनले जानकारी दिए। झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आकलन गरिएको छ। 

‘हाडखोर मात्रै भेटिएकाले लिङ्ग र उमेर पहिचान हुनसकेको छैन। दुई दिनअघि हाडखोर भेटिएसँगै सो क्षेत्रमा अध्ययन थालिएको छ,’ तिवारीले भने, ‘खाग र खुर नभेटिएकाले शिकारीले मारेको हुन सक्ने आशंका गरिएको छ।’ 
 
गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैंडा मरेका थिए। तीमध्ये दुई चोरीसिकारबाट तथा अन्य प्राकृतिक कारणले मरेका हुन्। साउनयता गैँडा मृत भेटिएको यो पहिलो हो। वर्षात्को समयमा निकुञ्जमा बाटो बिग्रने भएकाले गाडीबाट गस्ती गर्न असम्भव हुने गर्दछ। यो समयमा हात्ती, साइकल, डुङ्गा र पैदलगस्ती गर्ने गरिन्छ। यससँगै सुरक्षा निकाय र निकुुञ्जका कर्मचारीले एक दुई दिन विभिन्न ठाउँमा पुगेर राति बसेर गस्ती गर्ने गरिन्छ। 

निकुञ्जभित्र ६७  पोष्ट छन्। निकुञ्जका निमित्त प्रमुख राजु घिमिरेका अनुसार ती पोस्बाट वरपरका क्षेत्रमा गस्ती गर्ने गरिन्छ। कतिपय पोष्टमा नेपाली सेना, निकुञ्जका कर्मचारी र हात्ती छन् भने कतिपयमा सेना र हात्ती मात्रै छन्। वर्षात्को समय भए पनि गस्तीलाई निरन्तरता दिइएको उनले जानकारी दिए। 
निकुञ्जका सबै भूभागमा निगरानी हुनेगरी गस्ती गर्ने कार्य भइरहेको घिमिरेको भनाइ छ। गाडी नचल्दासमेत नियमित गस्ती गर्ने गरिन्छ।

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्