Kathmandu Press

सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो। 
सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

काठमाडौं, भदौ १४ : विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई  सम्मान गरिएको छ।

बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो। 

चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए। सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताए। 

Hardik ivf

'नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पु¥याएर यस क्षेत्रबाट विदेशी मुद्रा आर्जनमा लाग्नुपर्छ,' उनले भने। नेपालले प्याराग्लाइडिङ क्षेत्रलाई अगाडि बढाउन विद्यालय नै सञ्चालन गरेर शिक्षा प्रदान गर्दै आइरहेको उनको भनाइ थियो।

प्याराग्लाइडिङ आरोही चिनियाँ नागरिक ली सानटाओले आफूले पहिलोपटक सन् २०१५ मा पोखरामा  प्याराग्लाइडिङ गरेको स्मरण गर्दै सोही समयदेखि नै सगरमाथामा प्याराग्लाइडिङ गर्ने सपना बुनेको बताए।

'मैले सन् २०१५ मा पोखरामा प्याराग्लाइडिङ गरेपछि सन् २०१६ मा प्याराग्लाइडिङ कोर्ष पढेर क्रमशः पाँच हजार, छ हजार र सात हजार मिटर अग्ला चीनका हिमालमा प्याराग्लाइडिङ गरेँ, त्यसपछि सगरमाथामा प्याराग्लाइडिङ गर्ने इच्छा जाग्यो र सगरमाथाबाट प्याराग्लाइडिङ गरें,' उनले भने।

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन क्षेत्रमा नयाँ कुरा बिक्री गर्नसके देशको विकासमा पर्यटनले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। 'पर्यटनको हिसाबले विश्वको उत्कृष्ट मुलुक नेपाल हो, नेपालको पर्यटन रहेन भने विश्वको पर्यटन रहन सक्दैन,' उनले भने। 

सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पाले नेपालका हिमाल प्याराग्लाइडिङ गर्ने खालका रहेकाले यसलाई सरकारले अगाडि बढाउनुपर्ने बताए। कोरोनापछि नेपालको पर्यटन क्षेत्र लयमा फर्किन थालेको उनको भनाइ थियो।

त्यसअघि बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई मन्त्रालयमा सम्मान गरेका थिए। 

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्