५ वर्षको विकास योजना तयार गर्दै नमोबुद्ध नगरपालिका
‘जनताको आवस्यकता पहिचान पहिले नै गरेर त्यसकोे आधारमा विकास गर्ने हाम्रो योजना हो ।हामी थालेको पञ्चवर्षीय योजनाले अर्को कार्यकालको लागि आउने जनप्रतिनिधीलाई पनि सहज हुनेछ,’ नगर प्रमुख लामाले भने ।
काभ्रे, भदौ ३ : योजनावद्ध विकास गर्न नमोबुद्ध नगरपालिकाले आवद्यिक नगर विकास योजना निर्माण थालेको छ।
‘कृषि, व्यापार र पर्यटन : हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले ५ वर्षको विकासको योजना निर्माण थालेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए।
‘जनताको आवस्यकता पहिचान पहिले नै गरेर त्यसकोे आधारमा विकास गर्ने हाम्रो योजना हो,’ नगर प्रमुख लामाले भने, ‘हामी थालेको पञ्चवर्षीय योजनाले अर्को कार्यकालको लागि आउने जनप्रतिनिधीलाई पनि सहज हुनेछ।’
आवद्यिक नगर विकास योजनामा नगरको वस्तुस्थिती विश्लेषणसहित हालसम्मको विकासको समिक्षा, दीर्घकालिन सोच तथा लक्ष्य तथा समष्टिगत आर्थिक खाका समावेश गरिनेछ। उद्देश्य, रणनीति, स्रोतको व्यवस्थापन, सरोकारवालाको भुमिका, स्रोत साधनको बाँडफाँड र परिचालनका आधारहरु समावेश गरिनेछन्।
वडागत आयोजना बैंक तयार गरिनुका साथै विषयक्षेत्रगत आयोजनाहरुको लागत अनुमान समेत गरिएको परामर्शदाता बिके महर्जनले बताए। यसअघि सरोकारवालाहरुको सहभागितामा नगर र वडास्तरमा समेत आवद्यिक नगर विकास योजनाको बारेमा अभिमुखिकरण गरिसकिएको छ।

आइतबार नगरपालिकमा आयोजित कार्यशालामा नगरप्रमुख कुनसाङ लामाले स्रेत सीमित भएकाले माग सम्बोधन गर्नकै लागि योजनावद्ध विकास थालिएको बताए।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले योजना निर्माण गर्नु नै आधा काम भएको मानिने भन्दै आगामी योजना र बजेट आवद्यिक योजनाका आधारमा निर्माण हुने बताए। उनले आवद्यिक योजना निर्माण गरेर मात्रै काम गर्नुपर्ने कानूनमा स्पष्ट उल्लेख भएको भन्दै नगरले पहिलो पटक पञ्चवर्षीय योजना निर्माण गर्न लागेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस नमोबुद्धका उपसभापति इन्द्रबहादुर दाहाल, माओवादी केन्द्रका उपाध्यक्ष नवराज अधिकारी, राप्रपाका नवराज सत्याल, एकिकृत समाजवादीका कृष्णबहादुर तामाङसहित वडाअध्यक्षहरु, कार्यपालिका तथा नगर सभा सदस्यहरु, कर्मचारी र अन्य सरोकारवालाहरुको सहभागिता थियो।












