बेलिङहम र भिनिसियसको गोलमा रियलको जित
शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई उसकै मैदानमा ३-१ले हरायो।
काठमाडौं, भदौ ३ : जुड बेलिङहम र भिनिसियसले गोल गरेको खेलमा रियल मड्रिड विजयी भएको छ। शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई उसकै मैदानमा ३-१ले हरायो।
खेलमा सुरुआती अग्रता भने अल्मेरियाले लियो। खेलको तेस्रो मिनेटमै सर्जियो अरिबासले गोल गर्दै घरेलु टोली अल्मेरियालाई अग्रता दिलाए।
तर त्यो अग्रता लामो समय रहने। १९औं मिनेटमा बेलिङहमले रियलका लागि बराबरी गोल फर्काए। यसै सिजन रियल आएका उनले लगातार दोस्रो खेलमा गोल गरेका हुन्। उनी रियलका लागि डेब्यूका दुवै खेलमा गोल गर्ने क्रिस्टियानो रोनाल्डोपछि दोस्रो खेलाडी हुन्।
बेलिङहमले नै ६०औं मिनेटमा गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए। रियलका लागि तेस्रो गोल भिनिसियसले ७३औं मिनेटमा गरे ।
लगातार दोस्रो खेल जित्दै शतप्रतिशत नतिजा कायम राखेको रियल ६ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ। लस पालमसलाई १-० ले हराएर लगातार दोस्रो खेल जितेको भ्यालेन्सियाको पनि ६ अंक छ।












