आँखा पाक्ने रोगले भक्तपुरका विद्यालय धमाधम बन्द हुँदै
नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत तथा समुदायिक विद्यालयमा अध्ययन गर्ने कूल विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण बढेको देखिएपछि विद्यालयको पठनपाठन बन्द गर्ने अधिकार नगरपालिकाले सम्बन्धित विद्यालयलाई प्रदान गरेको उनले बताए।
भक्तपुर, भदौ २ : चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ।
संक्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि चाँगुनारायण नगरपालिकाले पनि विद्यालयहरुमा सर्वेक्षण गरेको थियो । जसमा करिब ६ प्रतिशत विद्यार्थीमा संक्रमण देखिएको नगर प्रमुख जीवन खत्रीले बताए।
नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत तथा समुदायिक विद्यालयमा अध्ययन गर्ने कूल विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण बढेको देखिएपछि विद्यालयको पठनपाठन बन्द गर्ने अधिकार नगरपालिकाले सम्बन्धित विद्यालयलाई प्रदान गरेको उनले बताए।
‘आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै नजिकका नगरपालिकाले विद्यालय बन्द गराएको थाहा पाइयो, हाम्रो नगरपालिकाको अवस्था बुझ्न विद्यालयमा गरिएको सर्वेक्षणमा ३५ प्रतिशत विद्यार्थीमा सङ्क्रमण पाइयो तर नगरपालिकाले विद्यालय बन्द गराउनुभन्दा पनि यो रोगको सङ्क्रमण फैलिन नदिन अवस्था हेरेर सम्बन्धित विद्यालयले निर्णय लिनसक्ने अधिकार प्रदान ग¥यौं,’ नगरप्रमुख खत्रीले भने।
नगरपालिकामा प्रमुख खत्रीको नेतृत्वमा बसेको शिक्षा, स्वास्थ्यलगायत बिभिन्न शाखाका पदाधिकारीको बैठकले विद्यालयका शिक्षक, विद्यार्थीको आँखा पाक्ने रोगको सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आफ्नो विद्यालयको परिवेशअनुसार बढीमा सात दिनसम्म विद्यालयको पठनपाठन स्थगन गर्न सकिने गरी व्यवस्था गर्ने अधिकार विद्यालयलाई दिएको बताए।
नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले शिक्षा शाखा, स्वास्थ्य शाखा र चाँगुनारायण अस्पतालको मेडिकल अधिकृतसहितको टोलीले नगर क्षेत्रभित्रका विभिन्न स्कुलमा आँखा पाक्ने रोगको स्क्रिनिङ तथा उपचारको क्रममा ३५ प्रतिशत विद्यार्थीमा समस्या देखिएको पाइएको बताए।
उनले करिब चार सय विद्यार्थीमा गरिएको परीक्षणमा एक सय ३५ भन्दाबढी विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण देखिएकाले विद्यार्थीलाई औषधि उपलब्ध गराई घरमै बस्न सुझाव दिइएको बताए। यो सरुवा रोग भएकाले विद्यार्थीमा सङ्क्रमण बढ्न सक्ने बताउँदै उनले संक्रमण धेरै बढे विद्यालयमा पठनपाठन स्थगन गर्न सकिने उल्लेख गरे।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले भने कतै अत्यधिक र कतै न्यून मात्रामा सङ्क्रमण देखिएकाले यसको न्यूनीकरणका लागि केही दिनका लागि विद्यालय बन्द गर्नुपर्ने बताए।
यता सूर्यविनायक नगरपालिकाले पनि आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएपछि तीन दिनका लागि विद्यालय बन्द गरेको छ। नगरपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकामा केहि दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण बढ्न थालेपछि नगरभित्रका सबै विद्यालय तीनदिनका लागि बन्द गराएको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए।
महामारी रोकथामका लागि अहिले दिइएको बिदा हिउँदे बिदाबाट कट्टा गराउने व्यव्स्था गरिएको उनले बताए।
त्यस्तै मध्यपुरथिमि नगरपालिकाले पनि आफ्नो नगरभित्र आँखा पाक्ने रोगको सङ्क्रमण बढेको भन्दै यसको रोकथामका लागि भदौ २ गतेसम्मका लागि यहाँका संस्थागत एवं सामुदायिक विद्यालय बन्द गराएको छ।
नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले नगरपालिकाले सुरुमा दुई दिन र पछि तीन दिन थप गरि पाँच दिनका लागि सबै विद्यालय बन्द गराएको जानकारी दिए। भक्तपुर नगरपालिकाले भने विद्यालय बन्द गराउनेबारे कुनै निर्णय लिएको छैन।
अभिभावकले भने दुईचार दिन विद्यालय बन्द गराएर आँखा पाक्ने रोगको सङ्क्रमण न्यून नहुने भएकाले पठनपाठन बन्द गर्न नहुने बताए। संक्रमण रोक्न विद्यालयहरुमा आँखाको औषधि राख्नुपर्ने, साबुनपानीले हात धुन लगाउनुपर्नेबारे कक्षाकक्षामा चेतना फैलाउनुपर्ने र रोग लागेका विद्यार्थीलाई केही दिन बिदा दिएर अरुका लागि पठनपाठन चालु गराउनुपर्नेमा जोड दिए।












