हुम्लाको लिमीको टेलिकमको फोर जी सेवा
फोर जी सेवा सुरु भएसँगै देश–विदेशमा रहेकाहरुसित सञ्चार सम्पर्क गर्न सहज भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।हुम्ला, भदौ १ : हुम्लाको हिमालपारिको गाउँ लिमीमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ।
योसँगै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिल, जाङ र हल्जिका बासिन्दा इन्टरनेट सेवाको पहुँचमा पुगेका छन्।
तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएसँगै लिमीका बासिन्दालाई सञ्चार सम्पर्क गर्न सहज भएको हो। फोर जी सेवा सुरु भएसँगै देश–विदेशमा रहेकाहरुसित सञ्चार सम्पर्क गर्न सहज भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।
चार हजार छ सय मिटर अग्लो स्थानमा फोर जी सेवाको टावर स्थापना गरिएको छ। लिमीका तीनै गाउँ तिल, हल्जि र जाङ इन्टरनेटको पहुँचमा जोडिएका छन्।
लिमीको हल्जिगाउँमा यसअघि वर्ल्डलिंकको इन्टरनेट सेवा सञ्चालनमा थियो। उक्त सेवा सुस्त भएका कारण फोर जी सेवाका लागि पहल गरिएको वडाध्यक्ष तामाङले बताए। फोर जी टावर स्थापना गरिएको स्थानमा सोलार पनि जडान गरिएको छ।