Kathmandu Press

बाढीको उच्च जोखिममा चुरे फेदीको बेलडाँडी गाउँ

विगतमा चुरे पहाडमा वर्षा हुँदा खोलामा बाढी आउथ्यो र घरसम्म पुग्दैनथ्यो। खोलामै बगेर जान्थ्यो। बस्तीमा कुनै हानिनोक्सानी हुँदैनथ्याे।
बाढीको उच्च जोखिममा चुरे फेदीको बेलडाँडी गाउँ

कञ्चनपुर, साउन ३२ : शुक्लाफाँटा नगरपालिका–८ का कलकबहादुर डगौरा चुरे नजिकको बेलडाँडी गाउँमा बस्दै आएकाे ६ दशक बित्नै लागेको छ।

विगतमा चुरे पहाडमा वर्षा हुँदा खोलामा बाढी आउथ्यो र घरसम्म पुग्दैनथ्यो। खोलामै बगेर जान्थ्यो। बस्तीमा कुनै हानिनोक्सानी हुँदैनथ्याे।
 
तीन दिनअघि अनौखी खोलाको बाढी उनको घरसम्मै पुग्यो। पहिलो पटक बालुवा, ढुङ्गा, गिट्टी ल्याएर उनले रोपेको धान पूरै पुरिदियो। 'बाढीको समस्या पहिलो पटक नै देखियो,' उनले भने, 'खोलाको बाढीको पानीले पूरै खेतमा रोपेको धान सोत्तर बनाइदिएको छ, धान किनेर भात खानुपर्ने अवस्था ल्यायो।'
 
खोलाले उनको मात्रै धानबालीमा क्षति गरेको छैन। गाउँका अन्य सात परिवारले लगाएको धानबालीमा व्यापक क्षति पुर्‍याएको छ। खोला र किसानले खेती गर्ने जग्गाको सतह बराबरीमा पुगेको छ। चुरे क्षेत्रका पहाड र नजिकैका वनमा निरन्तररुपमा पहिरो जान थालेपछि यो समस्या आएको स्थानीय रामसिंह चौधरीले बताए।
 
खोलाको बहाव क्षेत्रको गहिराइमा निकै कमी आएपछि बाढीजन्य प्रकोपको समस्याले सताउन थालेको उनको भनाइ छ। चुरे क्षेत्रमा सडक खन्ने, बस्ती बस्ने, अनियन्त्रितरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने र वन विनाश हुनेक्रम बढ्दोरुपमा हुन थालेपछि बाढीको समस्या फेदीका गाउँमा देखिन थालेको चौधरीले बताए।
 
'वर्षात्का बेला चुरे क्षेत्रमा थोरै वर्षा हँुदा बाढीको समस्या झेल्दै आएका छौँ', स्थानीय पतिराम चौधरीले भन्नुभयो, 'अरुबेला हात्ती, बँदेललगायतका जनावरले लगाएको बाली खाएर नोक्सानी गर्दै आएका छन्।' गाउँ नै छाडेर अन्यत्र जानुपर्ने अवस्था सिजना भएको उनले दुखेसो पोख्नुभयो। बाढीको समस्या झेल्दै आएकी बेलडाँडीकी विमला चौधरीको परिवारले चुरे क्षेत्रमा वर्षा हुँदा घर नै छाड्नुपर्ने अवस्था रहेको छ।
 
'बाढी घरसम्म नै आइपुग्छ, लगाएको धानबाली पूरै खोलाको बाढीले पटान गरी पुरिदिएको छ', विमलाले भन्नुभयो, 'अरु वर्ष खेतसम्म बाढी पुग्थ्यो, हाल घर नै डुबान पर्ने गरी बाढीको पानी आउन थालेको छ, बालबालिका र घरका बुढापाकालाई सुरक्षित गर्नका लागि नजिकैको अमरपुर गाउँमा बस्दै आएका छौँ।'

Hardik ivf

घरमा एक जना कुरुवा राखेर अरु परिवारका सदस्य अमरपुरमा डेरा लिएर बस्दै आएको उनले बताए। खोला नियन्त्रणका लागि नगरपालिका कार्यालय पुगे पनि अश्वासनबाहेक केही हुन नसकेको बेलडाँडी गाउँका बासिन्दाको भनाइ छ। 'बजेटको समस्या देखाएर टार्ने गरिएको छ', स्थानीय कालुराम चौधरीले भन्नुभयो, 'खोलाको धार परिवर्तन गर्न पाए पनि बाढी घरसम्म पुग्दैनथ्यो, त्यो पनि हुन सकेको छैन।' 

खोलाजन्य पदार्थ वैज्ञानिक तरिकाले हटाए पनि बाढीको समस्या समाधान हुने स्थानीयको भनाइ छ। बेलडाँडी गाउँ चारैतिर खोला र नदीले घेरिएको छ। बर्सेनि यस गाउँमा वनहरा नदी, अनौखी खोला र अन्य खहरे खोलाले कटान तथा पटानको समस्या ल्याउने गरेका छन्। खोला र नदीकै कारण गाउँ नै खतरामा परेको गाउँका बासिन्दाको बुझाइ छ। 

तीन दिनअघि आएको बाढीले स्थानीयको खेतमा मात्रै नोक्सानी नगरेर नजिकको धार्मिक क्षेत्र भम्केपानीमा जग्गा कटानीको काम तीव्र बनाएको छ। गाउँमा पानी ल्याउन बनाइएको बाँधमा पनि क्षति गरेको छ। गाउँमा तीन सय बढी परिवारको बसोबास रहेको छ। 

प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, साउन ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्